सरकारले पर्यटन र रात्रिकालीन व्यवसायलाई पुरानै शैलीमा फर्काउन कार्यदल गठन गर्ने

सरकारले पर्यटन र रात्रिकालीन व्यवसायलाई पुरानै शैलीमा फर्काउन कार्यदल गठन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले पर्यटन र रात्रिकालीन व्यवसायलाई पुरानै शैलीमा फर्काउन कार्यदल गठन गर्ने भएको छ ।

काठमाण्डु उपत्यकाका पर्यटनसँग सम्बन्धित व्यवसायीसँग मन्त्रालयमा आज भएको छलफलमा गृहमन्त्री बालकृष्ण खाँणले कोभिड–१९ को चपेटामा परेको पर्यटन र रात्रिकालीन व्यवसायलाई सहजरुपमा सञ्चलान गरी सामान्य अवस्था फर्काउन कार्यदल बनाइने बताएका हुन् ।

उनले मन्त्रालयका सहसचिवको नेतृत्वमा सम्बन्धित अन्य मन्त्रालय, विभाग र सम्बद्ध व्यवसायी सम्मिलित सदस्य रहेको कार्यदल बनाइने बताए । ती व्यवसाय पूर्णरुपमा खुला गर्दा हुने सकारात्मक र नकारात्मक असरबारे अध्ययन प्रतिवेदनका आधारमा थप निर्णय लिइने गृहमन्त्री खाँणको भनाइ थियो ।

उनले व्यवसायको सम्मान राष्ट्रको सम्मान भएको भन्दै पर्यटन र रात्रिकालीन व्यवसायलाई सम्मानित बनाउन सबै लाग्नुपर्ने बताए । ‘व्यवसायको सम्मान राष्ट्रको सम्मान हो । रात्रिकालीन व्यवसायलाई सम्मानित बनाउँ’, मन्त्री खाँणले भने, ‘सरकार पर्यटन व्यवसायमैत्री छ । हामी तपाईहरूलाई स्वतन्त्ररूपमा व्यवसाय चलाउन दिने पक्षमा छौँ । तर नागरिकको जीवनरक्षा सरकारको पहिलो दायित्व हो । त्यसमा व्यवसायी र सरकार गम्भीर बन्नुपर्छ ।’

उनले पर्यटन व्यवसायीले भोगेको पीडाबारे सरकार जानकार रहेको भन्दै व्यवसायीका पीडामा सरकार संवेदनशील रहेको उल्लेख गरे । कुनै पनि नेपालीको अकालमा मृत्यु हुन नदिन सरकारको पहिलो प्राथमिकता रहेको भन्दै त्यसमा ख्याल गर्न व्यवसायीलाई आग्रह गरे ।

सरकार पर्यटन व्यवसायीको संवद्र्धनका पक्षमा रहेको बताउँदै गृहमन्त्री खाँणले पर्यटन व्यवसायलाई कसरी पूर्णरूपमा पहिलाको जस्तै अवस्थामा फर्काउन सकिन्छ भन्ने विषयमा विश्लेषण गरेर अगाडि बढ्ने बताए । मन्त्री खाँणले स्वास्थ्यका मापदण्ड पूरा गरेर र सरकारका नीतिनियम पालना गरेमा व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।