मोरङ- ग्रामीण क्षेत्रका नागरिकलाई विशेषज्ञ आँखा उपचार सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले मोरङको मिक्लाजुङ गाउँपालिकामा बृहत् आँखा शिविर सञ्चालन गरिएको छ।
विश्वप्रसिद्ध नेत्र चिकित्सक डा. सन्दुक रुइतको सहभागितामा सञ्चालन गरिएको शिविरमा मोतियाबिन्दुको शल्यक्रियासहित आँखासम्बन्धी विभिन्न रोगको परीक्षण तथा उपचार सेवा प्रदान गरिएको छ।
मिक्लाजुङ गाउँपालिका–२, तिल्केनीस्थित मधुमल्ला अस्पतालमा कात्तिक २८ गतेदेखि मंसिर १ गतेसम्म चारदिने शिविर सञ्चालन गरिएको हो।
गाउँपालिका अध्यक्ष बबिकुमार राईको पहल तथा समन्वयमा आयोजना गरिएको शिविरले ग्रामीण क्षेत्रका नागरिकलाई आफ्नै गाउँमा विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर दिएको छ। शिविरको पहिलो दिन नै १०० जनाभन्दा बढी बिरामीले उपचार सेवा लिने अपेक्षा गरिएको थियो।
शिविरलाई व्यवस्थित र प्रभावकारी बनाउन वडा नम्बर २ का अध्यक्ष बलबहादुर श्रेष्ठले पनि सक्रिय समन्वय गरेका छन्।
गाउँपालिका, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाको सहकार्यमा सञ्चालित शिविरबाट विशेषगरी आँखाको समस्या भोगिरहेका ज्येष्ठ नागरिक र आर्थिक अवस्था कमजोर भएका परिवार लाभान्वित हुने अपेक्षा गरिएको छ।
ग्रामीण क्षेत्रका नागरिक सामान्यदेखि जटिल आँखासम्बन्धी समस्याको उपचारका लागि सहरका ठूला अस्पताल धाउनुपर्ने बाध्यतामा छन्।
विशेषगरी मोतियाबिन्दुको शल्यक्रियाका लागि टाढा जानुपर्ने, उपचार खर्च जुटाउनुपर्ने र आवतजावतमा समय खर्चिनुपर्ने समस्याले धेरै नागरिक प्रभावित हुँदै आएका छन्।
यस्तो अवस्थामा डा. सन्दुक रुइतजस्ता अन्तर्राष्ट्रिय ख्यातिप्राप्त चिकित्सकको सहभागितामा आफ्नै गाउँमा शल्यक्रियासहितको उपचार सेवा उपलब्ध हुनु मिक्लाजुङका नागरिकका लागि ठूलो अवसर बनेको छ।
शिविरबाट लामो समयदेखि धमिलो दृष्टि, कमजोर दृष्टि तथा मोतियाबिन्दुको समस्याबाट प्रभावित नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ।
समयमै परीक्षण र उपचारको अवसर पाउँदा आँखाको समस्याका कारण दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका नागरिकलाई राहत पुग्ने विश्वास गरिएको छ।






प्रतिक्रिया