काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेलाई वार्तामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिहीबार बालुवाटारमा बसेको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेपछि प्रधानमन्त्री देउवाले आफूले वार्तामा ल्याउने बताएका हुन् । उनले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर संसदको गतिरोध हटाउन आग्रह गर्ने बताए ।
सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ‘प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओली आजको बैठकमा अनुपस्थित भए पनि फेरि आउने विश्वास व्यक्त गरेको जानकारी दिए । साथै आजको बैठकमा संघीय संसदलाई निर्वाध रुपमा अघि बढाउनेबारे छलफल भएको उनले बताए ।
‘उहाँहरु संवाद र वार्ताबाट पर भाग्न खोजेको देखिन्छ । जुन मुलुकको आवश्यकताभन्दा भिन्न छ,’ प्रधानमन्त्री देउवाको भनाईलाई उद्धृत गर्दै मन्त्री कार्कीले भने, ‘आज अनुपस्थित नभए पनि फेरिफेरि पनि ओलीजीलाई आमन्त्रण गर्छु र बैठकमा आउनुहुन्छ भनेर प्रधानमन्त्रीले भन्नुभएको छ ।’
यता नेकपा एमालेले भने आफूहरुका माग पूरा नभएको भन्दै प्रतिनिधिसभा र राष्ट्रियसभा अवरुद्ध पार्दै आइरहेको छ । सभामुख अग्नी प्रसाद सापकोटाले राजनीतिक प्रतिशोध साँधेर माधव नेपालसहित १४ जना सांसदलाई कारबाही नगरेको एमालेको आरोप छ ।
प्रधानमन्त्री देउवाले एमालेलाई वार्ता र संवादमा ल्याउन पटकपटक प्रयास गरेपनि सफल हुन सकेको छैन् । उनले प्रवक्ता ज्ञानेन्द्र कार्कीमार्फत एमालेलाई वार्तामा ल्याउने प्रयास जारी राखेका हुन् । मन्त्री कार्कीले संसदको गतिरोध हटाउन आग्रह गर्दै पटकपटक अध्यक्ष केपी शर्मा अोलीसँग भेट गरिसकेका छैन् ।




प्रतिक्रिया