काठमाण्डु – परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे गलत प्रचार गरिएको बताएका छन् ।
संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिएर बिहीबार नेपाल फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री खड्काले एमसीसीबारे आफूले अमेरिकामा नबोलेको कुरालाई गलत प्रचार गरिएको बताएका हुन् ।
उनले गैरआवासीय नेपाली संघले न्युयोर्कमा आयोजना गरेको कार्यक्रममा एमसीसी नेपाल सरकारले मागेको परियोजना भएकाले संशोधन नहुने बताएका थिए । मन्त्री खड्काले त्यसबारे जसरी प्रचार भयो, त्योबारे आफूले बोल्दै नबोलेको दाबी गरे ।
‘एमसीसी सम्झौतापत्रमा २९ भदौ २०७४ मा हस्ताक्षर भएको हो । अहिले संशोधन गरौँ भन्दा एमसीसी लागु भएका अन्य देशहरूले के भन्छन् ? हामीले एमसीसी संशोधन गरौँ भन्दा अन्य देशहरूले पनि त्यसै भन्छन् कि ! भनेरचाहिँ मैले भनेको हो,’ उनले भने । संशोधन हुनै नसक्ने विषय आफूले नबोलेको उनको दाबी छ ।
महासभामा सम्बोधनको क्रममा आफूले कोभिड–१९ बाट मुक्ति पाउन विश्वका सबै देशहरूको खोपमा समान पहुँच हुनुपर्ने, जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पारेको प्रभाव, दिगो विकास लक्ष्य प्राप्तिमा नेपालजस्ता देशलाई धनी राष्ट्रले सहयोग गर्नुपर्ने विषय प्राथामिकता साथ उठाएको बताए ।




प्रतिक्रिया