काठमाण्डु – तथ्याङ्क विभागले दार्चुलाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा घरदैलोमै पुगेर जनगणना गर्ने भएको छ । भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा घरदैलोमै पुगेर गणना गर्नेगरी तयारी भएको तथ्याङ्क विभागका तथ्याङ्क शाखाका प्रमुख डुण्डीराज लामिछाने जानकारी दिए ।
व्यास गाउँपालिका– १ बडाका गुन्जी, कुटी र नाभि गाउँका ३२० परिवारका एक हजार जनाको गणना गर्न विभागले घरदैलोमै पुग्ने उनको भनाइ छ । यसअघिको तथ्याङ्कमा सात सय जना रहेको उक्त क्षेत्रमा हाल एक हजार जना पुगेको अनुमान विभागको छ । विवादास्पद भनिएको ठाउँमा कुनै समस्या देखिए कूटनीतिक पहलबाट समाधान खोज्ने उनले बताए ।
सरकारले शुरु गरेको राष्ट्रिय जनगणनालाई मंसिर ९ गतेभित्र सबै नेपालीको घरदैलोमा पुगेर गणना गर्ने गरी काम अघि बढेको लामिछाने जानकारी दिए । विभागले तालिम दिएर आठ हजार सुपरभाइजरलाई गत भदौ ३० गतेदेखि फिल्डमा पठाइसकेको छ ।
विभागले असोज १८ गते भित्र सम्पन्न गर्ने पहिलो चरणको घरसूचिकरणको काम सम्पन्न गर्ने कार्यतालिका बनाएको छ । विभागले छनौट भएका गणकहरूलाई कात्तिक २५ देखि मंसिर ९ गतेसम्म फिल्डमा खटाएर गणना सम्पन्न गर्ने कार्यक्रम रहेको जनाएको छ ।




प्रतिक्रिया