काठमाण्डु – नेकपा एमालेको पहिलो विधान महाधिवेशन सकिएको छ । शुक्रारदेखि ललितपुरको गोदावरीस्थित सनराइज केन्द्रमा सुरु भएको विधान महाधिवेशन आगामी मंसिरमा पार्टीको दशौं महाधिवेशन गर्ने घोषणा गर्दै सकिएको हो ।
तीन दिनसम्म चलेको महाधिवेशनमा पार्टी अध्यक्ष केपी ओली, महासचिव इश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले राजनीतिक, सांगठनिक र विधान संशोधन प्रतिवेदन पेस गरेका थिए ।
सो प्रतिवेदनमाथि शनिबार र आइतबार विभिन्न १० समूहबाट छलफलका क्रममा आएको सुझावहरुलाई समेट्दै महाधिवेशनले तीन वटा प्रस्ताव पारित गरेको छ ।
महाधिवेशन समापनमा अध्यक्ष केपी शर्मा ओलीले ‘एमाले एकता अमर रहोस्, अमर सहिद लाल सलाम, नेकपा एमाले जिन्दावाद’, भन्ने नारा लगाएका थिए । साथै आज सकिएको महाधिवेशनले आगामी निर्वाचनमा केन्द्रीत हुने अठोट गरेको छ ।
त्यसक्रममा अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा तीनै तहमा जित्नेगरी पार्टी काममा लाग्न निर्देशन दिए । ‘आगामी निर्वाचनबाट एमालेको बहुमतको सरकार बनाउनुपर्छ । स्थानीय तहमा पनि बहुमत ल्याउनुपर्छ । प्रदेश र संघमा पनि हामी बहुमतसहित सरकारमा फर्किनुपर्छ’, ओलीको भनाइ थियो ।
विधान महाधिवेशनमा पार्टीको निर्वाचन आयोग पनि गठन गरिएको छ । महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए ।




प्रतिक्रिया