काठमाण्डु – नेकपा एमालेले स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको भेला आयोजना गरेको छ ।
आइतबार मात्रै विधान महाधिवेशन सम्पन्न गरेको एमालेले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख तथा उपप्रमुखहरूको भेला आयोजना गरेको हो । सोमबार बिहान ९ बजेदेखि सुरु भएको भेला अहिले पनि जारी रहेको केन्द्रीय सदस्य देवेन्द्र दाहालले जानकारी दिए ।
उनका अनुसार भेलामा अब हुने स्थानीय तहको निर्वाचन र पार्टीले खेल्नुपर्ने भुमिकाका बारेमा छलफल भइरहेको छ । एमाले विभाजनपछि स्थानीय तहमा पार्टीको अवस्था र त्यसको पूर्तिका लागि तय गर्नुपर्ने रणनीतिका बारेमा सहभागीहरूबाट हुने रिर्पोटिङपछि आवश्यक निर्देशन दिइने नेता दाहालले बताए ।
भेलामा एमालेका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका प्रमुख उपप्रमुख सहभागी छन् । उक्त भेलालाई दिउँसो १ बजेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।




प्रतिक्रिया