काठमाण्डु – चाडपर्व सुरु भएसँगै यातायात व्यवसायीहरुले आफूखुसी भाडा लिने गरेको पाइएको छ । काठमाण्डुबाट बाहिरिने यात्रुहरुसँग यातायात व्यवसायीहरुले आफूखुसी भाडा लिने गरेको यात्रुहरुले गुनासो गरेका छन् ।
टिकट काउण्टरहरुले सरकारले तोकेको भन्दा झण्डै दुई गुणा बढी भाडा लिएको गुनासो यात्रुहरुले गरेका छन् । पूर्वी पहाडी जिल्ला खोटाङ, ओखलढुंगालगायतका जिल्लामा जाने यात्रुहरुबाट दुई गुणा भन्दा बढी भाडा असुली गरेको पाइएको छ । काठमाण्डुबाट खोटाङ जाने एक यात्रुले प्रतिव्यक्ति २२ सय रुपैयाँ तिरेर टिकट काटेको बताएका छन् ।
काठमाण्डुपाटीको सम्पर्कमा आएका ती यात्रुले भने, ‘सुरुमा २५ सय भन्थ्यो । वार्गेनिङ गरेर २२ सयमा टिकट दिए । पहिले काठमाण्डुबाट दिक्तेल जाने भाडा १५ सय थियो । २८ प्रतिशत बढाउँदा पनि त्यत्रो त नहुनु पर्ने हाे ।’
ट्राफिक प्रहरीको हेल्प डेस्कमा सम्पर्क गर्नुभएन ? भन्ने प्रश्नमा नाम नबताउने सर्तमा ती यात्रुले दशैंको बेला घर जानुपर्ने र उजुरी गरे टिकट नदिने समस्याका कारण बाध्य भएर टिकट काटेको बताए ।
यस्तै काठमाण्डुबाट ओखलढुंगा जाने यात्रुसँग पनि टिकट काउण्टरहरुले मनलाग्दी भाडा असुल गरेको पाइएको छ ।
चाबहिल काउण्टरका पदम भुजेलले ओखलढुंगा बजारसम्म पुगेकाे गाडीमा १५ सय र सुमोमा दुई हजार रुपैयाँ लाग्ने बताए ।
काउण्टरहरुले यसभन्दा अगाडि काठमाण्डुबाट ओखलढुंगा बजारसम्म पुगेको सुमोको भाडा एक हजार लिँदै आएकोमा दशैंको मौकामा दुई हजार रुपैयाँ असुल गरेका छन् ।
चाडबाडको मौका छोपेर उनीहरुले मनलाग्दी भाडा लिएपछि ट्राफिक प्रहरीले अनुगमनलाई व्यापक बनाएको बताएको छ । महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता एसपी सञ्जिव लाल दासले सादा पोसाकमा ट्राफिक प्रहरी खटाइएको बताए ।
‘बिहान ६ देखि बेलुका ८ बजेसम्म सादा पोशाकमा विभिन्न टोली खटाएका छौं । कसैले पनि बढी भाडा लिएमा तत्काल कारबाही गर्छौं’, उनले भने ।
प्रवक्ता दासले आज मात्रै ७३ जना यातायात व्यवसायीलाई कारबाही गरिएको जानकारी दिए ।
उनले ट्राफिक प्रहरीले सञ्चालन गरेको हेल्प डेस्कमा नै सूची टाँसिएको र बढी भाडा नतिर्न पनि यात्रुहरुलाई आग्रह गरे ।




प्रतिक्रिया