काठमाण्डु – मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा बिहीबार हुने मन्त्रिपरिषद विस्तारका बारेमा छलफल भएको बुझिएको छ ।
छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कृष्ण सिटौला लगायत नेताहरु रहेका छन् । छलफलमा पौडेल समूहले तीन मन्त्रालय आफुहरुले पाउनुपर्ने माग गरेको छ ।
मंगलबार बसेको गठबन्धनको बैठकमा कांग्रेसले सात मन्त्रालय पाउने सहमति भएपछि बुधबार बसेको पौडेल पक्षको बैठकले तीमध्ये तीन मन्त्रालय आफूहरूले पाउनुपर्ने निर्णय गरेको छ । सोही माग लिएर पौडेल समूहका नेताहरु बालुवाटार पुगेका थिए ।
आफुहरुले तीन मन्त्रालय पाउनुपर्ने माग गर्दै नेताहरु रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएको नेता बलबहादुर केसीले जानकारी दिए । उनले पौडेल समूहले सरकारमा जाने मन्त्रीबारे भने कुनै छलफल नभएको बताए ।




प्रतिक्रिया