काठमाण्डु – संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले यमनको हुथी समूहले साउदी अरेबियामाथि गरेका आक्रमण र व्यापारिक जहाजहरूलाई दिएको धम्कीको कडा निन्दा गर्दै समूहलाई सैन्य गतिविधि तत्काल र बिनासर्त रोक्न आग्रह गरेको छ ।
परिषद्ले यमनमा जारी सैन्य गतिविधि, नागरिक तथा पूर्वाधारमाथिका आक्रमण र अन्तर्राष्ट्रिय समुद्री ढुवानीलाई लक्षित गर्ने धम्कीप्रति गम्भीर चासो व्यक्त गरेको हो ।
बेलायतले प्रस्तुत गरेको प्रस्तावमा व्यावसायिक विमानस्थल तथा अन्तर्राष्ट्रिय जलमार्गमा हुने आक्रमणसमेत रोक्न हुथी समूहलाई आग्रह गरिएको छ ।
परिषद्ले यमनसम्बन्धी प्रतिबन्धलाई निरन्तरता दिने प्रस्ताव २८३७ पारित गरेको छ । यसअन्तर्गत सम्पत्ति रोक्का र यात्रामा प्रतिबन्ध लगायतका व्यवस्था कायम रहनेछन् ।
त्यसैगरी प्रस्ताव २१४० अन्तर्गत गठन गरिएको विज्ञ समूहको कार्यादेश सन् २०२७ डिसेम्बर १५ सम्म विस्तार गरिएको छ । समुद्री सुरक्षासम्बन्धी विषयको समीक्षा, अनुगमन र प्रतिवेदन तयार गर्न विशेषज्ञहरू थपेर समूहको सदस्य संख्या ६ पुर्याउन परिषद्ले महासचिवलाई अनुरोध गरेको छ ।
प्रस्तावमा सदस्य राष्ट्रहरूलाई स्थल तथा समुद्री मार्गबाट हुने हतियार र त्यसका सामग्रीको तस्करी नियन्त्रण गर्न प्रयास तीव्र बनाउन पनि आग्रह गरिएको छ । हतियार प्रतिबन्ध प्रभावकारी बनाउन सदस्य राष्ट्रहरूबिच सूचना आदानप्रदान बढाउनुपर्नेमा परिषद्ले जोड दिएको छ ।
यमनको द्वन्द्वको सैन्य समाधान सम्भव नभएको उल्लेख गर्दै परिषद्ले वार्ता र मेलमिलापलाई नै समस्याको व्यावहारिक समाधानका रूपमा अघि सारेको छ । यस प्रक्रियामा यमनी सरकार, हुथी समूह, प्रमुख राजनीतिक तथा क्षेत्रीय पक्षका साथै महिला, युवा र नागरिक समाजको सहभागिता सुनिश्चित गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।
परिषद्ले यमनमा मानवीय सहायता पुर्याउने गतिविधि र व्यावसायिक वस्तुको आयात सहज बनाउनु आवश्यक रहेकोमा पनि जोड दिएको छ ।


प्रतिक्रिया