लुम्बिनीमा कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउन नसक्दा सरकार बिस्तारमा ढिलाई

लुम्बिनीमा कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउन नसक्दा सरकार बिस्तारमा ढिलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशमा सरकार गठन भएको दुई महिना पुग्न लाग्दासमेत मन्त्रिमण्डलले पूर्णता पाएको छैन । सत्ता साझेदार प्रमुख घटक नेपाली कांग्रेसले मन्त्रीहरूको नाम टुंगो लगाउन नसक्दा मन्त्रीमण्डल बिस्तारमा ढिलाई भएको हो।

प्रदेश सरकारमा कांग्रेसले चारवटा मन्त्रालय पाएको छ । जसमा डिल्लीबहादुर चौधरी पर्यटन र ग्रामीण तथा सहरी विकासमन्त्री छन् भने अरु मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन । कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले बाँकेका सुरेन्द्र हमाल र रुपन्देहीका बसिउद्धिन खाँलाई मन्त्री बनाउने सहमति भएको बताए ।

त्यस्तै राज्यमन्त्रीको नाम पनि टुंगो लाग्न बाँकी छ । आकांक्षी धेरै भएका कारण समय लागेको कांग्रेस नेताहरू बताउँछन् । मन्त्री बन्नका लागि अर्घाखाँचीकी निर्मला क्षेत्री, कपिलबस्तुकी रिना नेपाल र दाङका अर्जुन श्रेष्ठले पनि आकांक्षा राखेका छन् । प्रदेश संसदीय दलले मन्त्री टुंगो लगाउन नसकेपछि दलका नेता वीरेन्द्र कनौडियाले पार्टीको केन्द्रीय नेतृत्वसँग छलफल गरेर समाधान खोजिने बताए ।

माओवादी केन्द्रले भने मन्त्रीको नाम टुंगो लगाएको छ । माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारू र बर्दियाका तिलकराम शर्मालाई मन्त्री बनाउने निर्णय भएको छ । राज्यमन्त्रीमा विमलाकुमारी खत्री वलीको नाम टुंगो लागेको छ ।

माओवादीको भागमा परेको एउटा मन्त्रालय नेकपा (एकीकृत समाजवादी) लाई दिने भएपछि अन्तिम समयमा प्रमुख सचेतक पाल्पाका तुलाराम घर्तीको नाम समेत हटेको छ । नेकपा समाजवादीबाट पाल्पाकी रमा घर्ती मन्त्री बन्दैछन् । लुम्बिनी प्रदेशसभामा घर्ती समाजवादीकी एक्ली सांसद हुन् ।