सुरूवातमै लड्खडायो जनकपुर, २८ रनमै गुमायो चार विकेट

सुरूवातमै लड्खडायो जनकपुर, २८ रनमै गुमायो चार विकेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध जनकपुर बोल्ट्सको ब्याटिङ सुरुवात निकै खराब भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले ८.४ ओभरमा २८ रन बनाउँदा चार विकेट गुमाएको छ।

जनकपुरका प्रारम्भिक ब्याटरहरू क्रिजमा टिक्न सकेनन्। त्रित राज दास ५ रनमा आउट भए भने सन्तोष कार्कीले १० रन बनाए। रायन बर्ल ६ रनमा पवेलियन फर्किए। ह्यारी टेक्टर खाता नै नखोली आउट भए।

जनकपुरका चारै विकेट रञ्जित कुमारले लिएका छन्। उनले तीन ओभरमा एक मेडन राख्दै जम्मा दुई रन खर्चिएर तीन विकेट लिएका छन्। सिकन्दर राजाले एक विकेट हात पारेका छन्।

अहिले आदित्य महता २ र विशाल शुस्लिङ ३ रनमा अविजित छन्। जनकपुरले पावरप्लेमा २२ रन बनाउँदा तीन विकेट गुमाएको थियो।

आजको खेलमा चितवनले एक खेलाडी परिवर्तन गरेको छ। पाँच खेलबाट दुई जित, दुई हार र एक खेलमा अंक बाँडेको चितवन पाँच अंकसहित तालिकाको पाँचौँ स्थानमा छ।

लिग चरणमा चितवनले आजसहित दुई खेल खेल्न बाँकी छ। प्लेअफमा पुग्ने सम्भावना बलियो बनाउन चितवन आजको खेल जित्न चाहन्छ।

यता, दुई जित र चार हार बेहोरेको जनकपुर चार अंकसहित छैटौँ स्थानमा छ। आज पराजित भए जनकपुर प्लेअफ दौडबाट बाहिरिनेछ। जित निकाले पनि प्लेअफ पुग्न अन्य खेलको नतिजा कुर्नुपर्नेछ।