जाजरकोट- जिल्लाका दुई युवाले बाटोमा पाएको एक लाख सम्बन्धित ब्यक्तिलाई बुझाएका छन् । शनिबार उनीहरूले प्रहरीमार्फत सम्बन्धित ब्यक्तिलाई बुझाएका हुन् ।
जिल्लाको कुशे गाउँपालिका- २ स्थायी घर भइ प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई जाजरकोटमा जेटिए पदमा कार्यरत सुवास सिंह र भेरी नगरपालिका ४ घर भई सोही कार्यालयमा जेटिए पदमा कार्यरत २३ बर्षीय धर्म चन्दले भेरी नगरपालिका ४ गैरीखालीस्थित सडकमा आज बिहान एक लाख फेला पारेका थिए ।
‘घुम्न निस्केका थियौं । बीच सडकमा प्लाष्टिकको झोलामा बेरेको सानो पोेको भेट्यौ । के रहेछ भनेर खोलेर हेर्दा एक लाखको गड्डी रहेछ । हामीले तत्काल प्रहरीलाई बुझाईदियौ,’ चन्दले भने ।
रकम हराएको करिब १८ घण्टापछि सम्पर्कमा आएका कुशे गाँउपालिका ९ मेलविसाउना निवासी ४५ वर्षीय धर्मे सार्कीलाई उक्त रकम हस्तान्तरण गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाले बताए । उनकाअनुसार रकम हराउने धर्मे कमाइका लागि केही समयअघि भारत गएका थिए । भारतबाट दशैँ मनाउन घर फर्केने क्रममा नेपालगञ्जमा भारतीय रुपैयाँ सटाएर शनिबार मात्र जाजरकोट सदरमुकाम आइपुगेका थिए । मदिरा सेवन गरेका कारण उनले रकम हराएका थिए ।
मदिराको नशाले छोडेपछि शनिवार बिहानमात्र रकम हराएको थाह पाएका उनले सोधीखोजी गर्दा प्रहरीको सम्पर्कमा आएको र उनको बयानका आधारमा रकम उनकै भएको यकिन गरेर रकम फेला पार्ने ब्यक्तिको रोहवरमा हराएको एक लाख रुपैयाँ हस्तान्तरण गरिएको प्रहरी प्रमुख थापाले बताए । रकम फेला पारेर इमान्दारपूर्वक प्रहरीलाई बुझाउने दुवै युवालाई प्रहरी प्रमुख थापाले धन्यवाद ज्ञापन गरेका छन् ।




प्रतिक्रिया