काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही क्षेत्र नम्बर ४ पुगेका छन्।
छठको मुख्य दिन आइतबार साँझ उनले पूजाका सामग्रीले भरिएको ढाकी बोकेर नदी किनारस्थित छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने धार्मिक विधिमा सहभागी हुँदैछन् ।
छठको अवसरमा शुभकामना दिँदै थापाले आफूले २०६५ सालदेखि काठमाण्डुको कमलपोखरीमा छठ मनाउन सुरु गरेको बताए।
‘कमलपोखरीमा पहिलोपटक छठ मनाउँदा हामीले संयोजन गरेर तत्कालीन राष्ट्रपति रामवरण यादवलाई पनि सहभागी गराएका थियौँ। त्यसपछि लगातार १४ वर्ष मेरो नेतृत्वमा कमलपोखरीमा छठ मनायौँ। पछिल्लो समय कमलपोखरी छठको आकर्षणको केन्द्र बनेको थियो,’ उनले भने।
काठमाण्डुमा छठ मनाएपछि जनकपुरमा पनि मनाउनुपर्ने सोचका साथ आफूहरू जनकपुर र वीरगञ्जमा सहभागी भएको उनले बताए। यस वर्ष मधेस झर्ने योजना बनाएपछि सर्लाही क्षेत्र नम्बर ४ आएको उनको भनाइ थियो। ‘त्यसैले म आफ्नै ठाउँमा तपाईंहरूबीच छठ मनाउन आएको हुँ,’ थापाले भने।
कांग्रेसको १५ औँ महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले सभापतिको जिम्मेवारी सम्हालेपछि सर्लाही क्षेत्रका नागरिकसँग भेटघाट गर्ने योजना रहेको बताए। ‘छठमा आएको छु। अब केन्द्रीय कार्यसमितिको बैठक राख्छु। त्यसपछि चार दिनको समय लिएर फेरि यहाँ आउँछु,’ उनले भने।
उनले पुसको पहिलो सातासम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने र त्यसपछि प्रदेश अधिवेशन गर्ने बताए। त्यसलगत्तै पार्टी स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने उनको भनाइ थियो।
मंसिर ४ गते निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनबारे छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको उल्लेख गर्दै थापाले निर्वाचन नियमित प्रक्रिया भएको बताए।
‘निर्वाचन आउँछन्, जान्छन्। अघिल्लो निर्वाचनबाट हामीले प्रतिपक्षमा बस्ने म्यान्डेट पाएका छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार चलाउने जिम्मेवारी पाएको छ। तर सरकार ढंगले चलेन भने देशले दुःख पाउँछ,’ उनले भने।
आफूहरूविरुद्ध घेराबन्दी भइरहेको दाबी गर्दै थापाले त्यसलाई चिर्ने बताए। तर कांग्रेसको मुख्य चिन्ता देशले फेरि दुःख पाउनु हुँदैन भन्ने रहेको उनको भनाइ थियो।
‘अर्को चार वर्षमा चुनाव आउँछ। कहिले सरकारबाहिर र कहिले सरकारभित्र भइन्छ। तर देशले दुःख नपाओस्। यो चार-पाँच वर्षको समय खेर नजाओस् भन्ने हाम्रो ध्येय हो,’ उनले भने।
थापाले चाडपर्वले समाजमा सद्भाव र प्रकृतिसँग मिलेर बस्न सिकाउने भए पनि पछिल्लो समय नेपाली समाजमा घृणा फैलाउने प्रवृत्ति देखिएको बताए। राजनीतिले समाजमा विद्यमान सद्भावलाई बढाउनुपर्ने उनको भनाइ थियो।
‘प्रकृतिसँग मिलेर बस्नुपर्छ भन्ने हाम्रो चाडपर्वले सिकाउँछन्। तर अहिले हाम्रो समाजमा घृणा फैलाउनु दुःखद हो। राजनीतिको काम समाजमा भइरहेको सद्भाव बढाउने हो। राजनीतिले जताततै भताभुंग पार्न पाउँदैन,’ उनले भने।


प्रतिक्रिया