पोखरा – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी प्रजातन्त्रका लागि लडेको बताएका छन् । प्रधानमन्त्री देउवाले आइतबार गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्दै आफ्नो पार्टी प्रजातन्त्रको लागि लडेको बताएका हुन् ।
‘सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । कसैले अरु किसिमको सपना नदेखे हुन्छ,’ उनले भने, ‘हामी प्रजातन्त्रका लागि लडेको पार्टी हो । यसको विकल्प अरु हुन सक्दैन ।’
नयाँ सरकार गठन र त्यसपछिका घटनालाई लिएर विपक्षीले गरेको आलोचनामा निर्वाचनले त्यसको परिणाम देखाउने प्रधानमन्त्री देउवाले दावी गरेका छन् । ‘सबैले जनादेशको कुरा गरेका छन् । जनताको नाम सबैले लिन्छन् । जनताले को ठिक छ भनेर भोटमा देखाई हाल्छन् नि,’ उनले भने ।
त्यसैगरी देउवाले देशमा अझै धेरै काम गर्न बाँकी रहेको बताए । ‘अझै पूर्ण रूपमा संघीयता कार्यान्वयन गर्न बाँकी छ । विकास निर्माणका काम अगाडी बढाउनु छ । मलाई विश्वास छ, यो पूरा हुन्छ,’ प्रधानमन्त्री देउवाले भने ।




प्रतिक्रिया