परशुराम नगरपालिकाका बासिन्दाले कहिले सञ्चार सेवा पाउँछन् ?

परशुराम नगरपालिकाका बासिन्दाले कहिले सञ्चार सेवा पाउँछन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक खाती, डडेल्धुरा – डडेलधुरा जिल्लाको परशुराम नगरपालिकाका भित्रका दर्जनौँ बस्तीहरू टेलिफोन सेवाबाट बञ्चित भएका छन् ।  नेपाल टेलिफोनको सेवाले काम गर्न छाडेपछि परशुराम नगरपालिकाका दर्जनौँ बस्तीहरू सञ्चार सेवाबाट बञ्चित भएका हुन् ।

परशुराम नगरपालिका- ११ स्थित चोरगाडामा बनेको नेपाल टेलिकम टावरको काम पुरा भइसक्दा पनि निरन्तर नेटर्वक नआईरहेको स्थानीय बासिन्दाले बताएका छन् । वर्षौँदेखि सञ्चार सुविधा पाउने आशामा बसेका बासिन्दाहरू भने निराश भएका छन् । उक्त टावर बनेदेखि पहिले आउने नेटवर्क समेत नआउने गरेकाले फोन गर्नको लागि घन्टौँको बाटो हिडेर नेटर्वक आउने ठाउँमा पुग्नुपर्ने बाध्यता भएको स्थानीय बासिन्दाहरूको गुनासो छ ।

टावर सम्बन्धी समस्या हुँदासमेत जनप्रतिनिधिहरूले चासो नदेखाएको स्थानीय युवा प्रकाश धामीले काठमाण्डु पाटीलाई बताए । उनले भने, ‘ नेपाल टेलिकमका मान्छेहरू हामीले काम पुरा गरिसकेका छौ भन्छन् । तर मोबाइलमा टावर आउँदैन । पहिला आउने टावर समेत यसले गर्दा नआउने भएको छ । जनप्रतिनिधिहरू भने चुप लागेर बसेका छन् । हामी त ठुलो समस्यामा पर्यौ।’

यता स्थानीय युवा तथा नेविसंघ नेता सुरज ऐरले जनप्रतिनिधिहरूको लापरबाहीका कारण उक्त टावरको काम अधुरो रहेको बताए । उनले आगामी दिनमा  चुनाब आउने बेला भाषण मात्र हैन काम गरेर देखाउन समेत जनप्रतिनिधिहरूलाई सुझाब दिएका छन् ।

काठमाण्डु पाटीसँगको कुराकानीमा नेविसंघ नेता ऐरले भने, ‘ हाम्रो क्षेत्रमा विकासको गति आगाडि बढ्न नसक्नु भनेको दु:खको कुरा हो । अब नेताहरू चुनाब आउने बेला मात्र जनतालाई अनेकौं सपना देखाउँछन् । तर चुनाब जितिसके पछि भने काम सुन्य हुन्छ । हाम्रो क्षेत्रमा टावरको मात्र समस्या छैन् , यातायात , खानेपानी लगायतका धेरै समस्या छन् । जनताले कहिले पाउँछन् सेवा सुविधा ? चुनाब आउने बेला भाषण गरेर मात्र हुँदैन । काम पनि गरेर देखाउनु पर्यो । अब आगामी दिनमा परशुराम नगरपालिकामा विकासकाे गति तीब्ररूिपमा अगाडि बढ्छ भन्ने ठुलो अपेक्षा राखेको छु । ’

२०७६ सालमा काम सुरु भएको उक्त टावर हालसम्म पनि बनी नसक्नु ठुलो दुखको कुरा बनेको छ ।   वर्षौँदेखिको प्रतीक्षामा बसेर पनि अन्तिममा टावरको काम अधुरो बनको भन्दै स्थानीय बासिन्दा अर्कोसित बनेका छन् ।  वडा न. ११ का वडाअध्यक्ष मानबहादुर महराले उक्त टावरको लागि आफूले पहल गरिरहेको बताए । असोज भित्रनै नेटवर्क छाड्ने गरि आफूले पहल गरिरहेको अध्यक्ष महराले दावी गरे । 

काठमाण्डु पाटीसँगको कुराकानीमा उनले भने, ‘ मैले सक्ने जति पहल गरिरहेको छु । २०७६ सालमा निमार्ण सुरु भएको टावर अहिले सम्म नबन्नु जनताका लागि मात्र हैन । हाम्रा लागि पनि दुःखको कुरा हो । कति बेला ठेकेदार नै फरार भयो । बिचमा कोरोना र वर्षायामले पनि काममा बाधा गर्यो । तर पनि मैले सम्बन्धित निकायलाई बारम्बार घचघच्याउने काम गरिरहेको छु । सकेसम्म दशैँ भित्रै काम बनिसक्छ ।’

त्यसैगरी अध्यक्ष महराले यदि कारणवश दशैँ भित्र नेटवर्क आएन भने आफ्नो कार्यकाल भित्र उक्त टावरको काम जसरी पनि पुरा गर्ने घोषणा समेत गरे ।  महराले भने, ‘ मैले आफ्नोतर्फबाट जतिसक्दो पहल गरिरहेको छु । यदि दसैँभित्र काम बनेन भने आफ्नो कार्यकाल भित्र जसरी पनि जनताको मोबाइलमा राम्रो नेटवर्क आउने बनाउने छु । यसमा सम्पूर्ण जनता ढुक्क भए हुन्छ ।” नेपाल टेलिकमको डडेलधुरास्थित कार्यालयलाई पटक पटक जानकारी गराउँदा पनि समस्या समाधानका लागि पहल नगरिएको वडाध्यक्ष महराले गुनासो गरेका छन् ।

प्राविधिक मोहोन जोशीले भने टावरको काम आफ्नो तर्फबाट पुरा भइसकेको बताए ।  जोशीले भने, ‘ हामीले गर्ने काम गरिसकेका छौँ । डाडाको लागि मात्र नेटवर्क छाडेका हौँ । त्यसकारण भोइसकल गर्न मिल्दैन् । फेसबुक मात्र चलाउनको लागि हुन्छ । फोन गर्ने बनाउनको लागि नयाँ भोल्टी जोड्नु पर्छ । त्यसको लागि अझै एक महिना लाग्छ । अब सबै ठाउँबाट दबाब आएपछि त्यो काम छिट्टै भइहाल्छ ।’

यता वडा नं १० बेल्डाङी स्थित नेपाल टेलिकमको फोर जी टावर निर्माणमा पनि ढिलाई भएको छ । यसअघि डेबरी स्थित थ्री जी नेटवर्कले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म काम गर्ने भएपनि अहिले त्यो समयमा समेत स्थानीयहरू टेलिफोन सुविधाबाट बञ्चित भएका छन् ।

वडा नं १० का वडा अध्यक्ष हर्क बहादुर कार्कीले आफूहरू टावर चाँडो सञ्चालनका लागि पहल गरिरहेको बताएका छन् ।
आफूहरूले पहल गरेपनि ठेकेदारको ढिलाईका कारण समस्या भएको उनले बताए ।  विशेष गरि परशुराम नगरपालिकाको वडा नं ९,१० र ११ का बासिन्दाहरू अहिले टेलिफोन सेवाबाट समेत बञ्चित भएका छन् ।