काठमाण्डु– सरकार नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पछिल्लो समय मिडिया डिल गर्दा होस् वा सार्वजनिक मञ्चमा बोल्दा होस्, एउटा बाक्य बोल्न छुटाउँदैनन्, ‘पार्टी र सरकारका बीचमा कुनै विवाद र समस्या छैन ।’
शनिबार छठ पर्व मनाउन श्रीमती निकिता पौडेलसहित जनकपुर ओर्लिएलगत्तै शुभकामना आदान–प्रदान कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै उनले सोही भनाइ दोहो¥याए । लामिछानेले पार्टी र सरकारबीच कुनै विवाद वा समस्या नहरेको बताए ।
कहिलेकाहीं सरकारलाई केही सल्लाह, सुझाव र आलोचना गर्दा निकै ठूलो हल्लाखल्ला हुने गरेको भन्दै त्यस्ता हल्लाहरूका आधारमा अविश्वास नगर्न भने ।
त्यति मात्र होइन, सरकार आफ्ना बाचा पूरा गर्ने काममा तल्लीन रहेको समेत दाबी गरे । आफ्नै सरकारलाई दिएको सल्लाह, सुझाव र आलोचना फुटको संकेत नभइ बलियो आन्तरिक लोकतन्त्रको उदाहरण भएको व्याख्या उनको थियो ।
तर, लामिछाने निकटका रुपमा चिनिएका रास्वपाका केही प्रभावशाली नेताले सरकारको लगातार आलोचना गर्दै आएका छन् ।
लामिछानेले पार्टी र सरकारको नेतृत्वबीच समस्या नरहेको दाबी गरेको २४ घण्टा नबित्दै प्रवक्ता जगदीश खरेलले उनको भनाइको खण्डन हुने गरी सार्वजनिक अभिक्ति दिएका छन् ।
महामन्त्री विपिनकुमार आचार्य नेतृत्वमा चीन भ्रमणमा निस्किएको पार्टी नेताहरुको टोलीको बिदाइका लागि अन्तर्राष्ट्रिय विमानस्थल पुगेका प्रवक्ता खरेलले त्यहीं आयोजित पत्रकार सम्मेलनमा दानबहादुर कार्कीलाई पदमुक्त गरेर डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरिएको विषयमा पार्टी बेखबर रहेको बताए ।
प्रहरी महानिरीक्षक हेरफेर गर्दा सरकारले पार्टीसँग समन्वय नरहेको खरेलले बताए ।
उनले प्रहरी प्रमुख हटाउन पार्टीले सरकारलाई निर्देशन नदिएको स्पष्ट गरे । ‘आइजिपी हटाउने विषयमा पार्टीले सरकारलाई हटाऊ पनि भनेको छैन, राख पनि भनेको छैन’, उनले भने, ‘यो सरकारको विवेकको कुरा हो ।’ खरेलको यो भनाइले सरकार र पार्टीबीच विवाद रहेको भन्ने सभापति लामिछानेको दाबीलाई खण्डन गर्छ ।
पत्रकार सम्मेलनमा महामन्त्री विपिनकुमार आचार्यले रास्वपाका सबै सदस्यलाई सरकारलाई प्रश्न गर्ने अधिकार रहेको बताए । सरकारले बाटो बिराउँदा प्रश्न गरिनु स्वाभाविक रहेको भन्दै उनले त्यसलाई अन्यथा अर्थमा बुझ्न नमिल्ने तर्क गरे ।
‘सरकारले कतै बाटो बिरायो भने रास्वपाका सदस्यहरूले प्रश्न गर्छन्’, उनले भने, ‘प्रश्न गरिनुलाई गलत रूपमा लिनु हुँदैन ।’
सरकार र सरकारसँग सम्वद्ध व्यक्तिहरुबारे सञ्चार माध्यममा आएका समाचारका आधारमा जो कोही भए पनि छानबिन हुनुपर्ने पार्टीको धारणा रहेको आचार्यले उल्लेख गरे ।
रास्वपाको उदय नै सुशासनका लागि भएकाले सरकारनिकट व्यक्तिहरुले गल्ती गरेको अवस्थामा उन्मुक्ति हुन नसक्ने उनको भनाइ थियो । यस्तै उनले व्यक्तिभन्दा राज्यका संस्था माथि हुने औंल्याए । ‘पार्टी भित्र वा बाहिर सुशासनका सवालमा हामी सम्झौता गर्दैनौं’, उनले भने, ‘हामी राज्यका संस्थाहरू व्यक्तिभन्दा माथि हुनुपर्छ भन्ने मान्यता राख्छौं ।’
सञ्चारमाध्यममा आएका विषयमा निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने जिम्मेवारी सरकारको रहेको आचार्यको भनाइ थियो ।
आचार्यलाई गृहमन्त्री सुधन गुरुङ र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकारबारे केही सञ्चार माध्यममा आएका समाचारबारे सञ्चारकर्मीले जिज्ञाशा राखेका थिए । गृहमन्त्री र ब्यजनकारमाथिको आरोपको खण्डन नगरी उनले छानबिन हुनुपर्ने बताए ।
यद्यपि महामन्त्री आचार्य र प्रवक्ता खरेल दुवैले सरकारलाई पार्टीको साथ र सहयोग सधैं रहेको दाबी गरे ।
सरकार सञ्चालनमा पार्टीका तर्फबाट कुनै हस्तक्षेप नहोस् भन्नेमा आफूहरु सचेत रहेको भन्दै उनीहरुले सरकार र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले चाल्ने कदममा पार्टीको साथ रहने उल्लेख गरे ।


प्रतिक्रिया