काठमाण्डु – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मौलो पुजा गरेका छन् । प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पुजा गरी पूजा तथा निशानमा पञ्जा छाप लगाएका छन् ।
साथै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले मौलो पूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायब निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी जवान दुर्गा बहादुर सिंजालीलाई नगद पुरस्कार प्रदान गरेका थिए । नेपाल प्रहरीको निशान रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् ।
मूख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र अंकित हुन्छ । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षा अमन चयन कायम राख्ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्ट देवताको प्रतीकका रूपमा निशान झण्डालाई लिइन्छ।
संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस् भनी निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्वत् २०११ सालमा निशान झण्डा प्राप्त गरे पश्चात हरेक वर्ष वडा दशैं र चैते दशैंमा निरन्तर रूपमा मौलो पूजा गर्दै आएको छ ।




प्रतिक्रिया