उत्तमकुमार थापा /बझाङ – लगातार परेको भारी वर्षाका कारण बझाङमा बाढी र पहिरोमा परी हालसम्म नौ जनाको मृत्यु भएको छ, भने २१ जना अझै बेपत्ता रहेका छन् । वेपताहरुलाइ जिवितै फेला पार्ने सम्भावना निकै कम रहेकाे कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
मंगलबार बिहान थलारा गाउँपालिका वडा नं ४ डिख्लामा गएको पहिरोमा परी गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना बेपत्ता भएका थिए । दुई दिनदेखि हराइरहेका उनीहरूमध्ये दुई जनाको शव भने भेटिएको छ ।
अहिले बझाङको मौसम सुधार हुँदै गएकाले खोजिकार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा खटिएका छन् ।
गाउँभन्दामाथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाउँका १४८ घरपरिवार विस्थापित भएका छन् भने सात घर पुरिएका छन् । पहिरोका कारण तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय त्रिभुवन मावि महेन्द्रधारमा अस्थायी रुपमा आश्रय लिइरहेका छन् ।
पूरा गाउँ पहिरोको जोखिममा रहेपछि सय भन्दाबढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउदले बताए । विद्यालयमा बसिरहेका विस्थापितहरूमध्ये बालबालिका र वृद्धावृद्धलाई बढी समस्या भएको उनले बताए ।
यस्तै खप्तडछान्ना गाँउपालिकामा बाढी पहिरोमा परी ६ जनाको मृत्यु भएको छ । घरभन्दा माथिको डाँडाबाट पहिरो खसेर घर पुरिँदा खप्तडछान्ना गाँउपालिकाको माझीगाँउका ४५ वर्षीय भर्मराज रोकाया र उनकी ४१ वर्षीया श्रीमती जैसरा रोकाया, कालुखेतीका ४७ वर्षीय बिरु गिरी र उनकी ४५ वर्षीया श्रीमती चन्द्रा गिरी र पाटादेवलका धनराज जोशी रहेका छन् । एकजनाकाे भने पहिचान खुलेकाे छैन ।
छबिसपाथीभेरा गाँउपालिका २ मुम्लामा खोलाले बगाउँदा १० वर्षीय एक बालकको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिकाको कैलासमा ६० परिवार विस्थापित भएका छन् भने थलारा गाँउपालिकाका दुई सय बढी परिवार विस्थापित भएका छन् । सो क्षेत्रमा यतिबेला सञ्चारमा समेत समस्या छ । मोबाइलमा नेटवर्क नहुँदा क्षतिको पूरा विवरण आउन नसकेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।
गएको असोज ३१ गते वर्षा हुने प्रणाली सक्रिय भई नेपालमा विभिन्न क्षेत्रमा भारी वर्षा भएको थियो । यो क्रम आज पनि जारी छ । सरकारले बाढी पहिराेबाट मृत्यु हुनेका परिवारलाई दुई लाख दिने निर्णय गरेको छ । एकै परिवारका दुई जनाको निधन भएमा भने तीन लाख दिइनेछ ।









प्रतिक्रिया