काठमाण्डु- नेकपा एमालेले राष्ट्रिय भेलालगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ।
पार्टीले मंसिर २ र ३ गते राष्ट्रिय भेला आयोजना गर्ने र त्यसको दुई दिनपछि मंसिर ५ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी तयारी गरेको हो।
एमाले नेताका अनुसार केन्द्रीय कमिटी बैठकमा आगामी स्थानीय तहको निर्वाचन र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनेछ। अन्य एजेन्डाबारे भने टुंगो लागिसकेको छैन।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएपछि एमालेले पहिलोपटक राष्ट्रिय भेला र केन्द्रीय कमिटी बैठक गर्न लागेको हो।
भण्डारी अहिले एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरीयतामा रहेकी छन्।
उनको सक्रिय राजनीतिक पुनरागमनपछि हुन लागेको यी दुई बैठकलाई पार्टीभित्रको आगामी राजनीतिक दिशा र निर्वाचन रणनीतिका दृष्टिले पनि चासोका साथ हेरिएको छ।


प्रतिक्रिया