काठमाण्डु– प्रमुख दुई कम्युनिष्ट घटक नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्ने समझदारी भएको छ ।
एमाले अध्यक्ष केपी ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच चुनाबी तालमेल गरेर जाने अनौपचारिक सहमति भइसहेको दुवै दलका नेताहरुले पुष्टि गरेका छन् ।
चुनाव घोषणा भएपछि त्यसलाई औपचारिकता दिने सहमति दुई दलको छ ।
दुई नेताबीचको समझदारीअनुसार भित्रभित्रै चुनावी सहकार्यको गृहकार्य समेत सुरु भएको छ ।
ओली र प्रचण्ड भरसक निर्वाचन अगावै पार्टी एकता गरेर जाने पक्षमा छन् । तर, दुवै पार्टीभित्र बहुसंख्यक नेता एकताको विपक्षमा छन् ।
एमालेमा शंकर पोखरेल, विष्णु पौडेल, योगेश भट्टराई र सुरेन्द्र पाण्डेलगायत नेता तत्काल एकताको विपक्षमा छन् । नेकपामा सह–संयोजक माधवकुमार नेपालले एमालेसँग एकता चाहेका छैनन् ।
उनले ओलीकै नेतृत्वमा एमालेसँग एकता हुने अवस्था आए आफू अलग भएर नयाँ पार्टी गठन गर्ने चेतावनीसमेत प्रचण्डलाई दिइसकेको तत्कालीन नेकपा एकीकृत समाजवादीबाट एकतामा आएका एक नेताले काठमाण्डु पाटीलाई बताए ।
पार्टीभित्र विरोध रहे पनि केन्द्रीय समितिमा सुविधाजनक बहुमतमा रहेका ओली र प्रचण्ड लतारेरै एकता प्रक्रिया अघि बढाउने मनस्थितिमा रहेको एमालेका एक नेताले बताए ।
उनका अनुसार एकताका अधिकांश विषयमा दुई नेताबीच समझदारी बनिसकेको छ । केही प्राविधिक विषय मात्र टुंग्याउन बाँकी छन् ।
‘एकताको विपक्षमा रहेका नेताहरूलाई कम्युनिस्ट एकताविरोधीको संज्ञा दिएर ओली–प्रचण्ड पेलेरै अघि बढ्ने मनस्थितिमा हुनुहुन्छ । भित्रभित्रै दुई नेताबीच धेरै विषय मिलिसकेका छन् । केही प्राविधिक विषय मात्र मिलाउन बाँकी छ । जतिसुकै विरोध भए पनि उहाँहरू सुन्ने मुडमा देखिनुहुन्न,’ ती नेताले भने ।
स्रोतका अनुसार ओलीले एमाले र प्रचण्डले नेकपाका तल्ला कमिटीका नेताहरूलाई स्थानीय तह निर्वाचनमा सहकार्यको गृहकार्य गर्न निर्देशन दिएका छन् ।
दुवै अध्यक्षको निर्देशनपछि पालिका र वडास्तरमा उम्मेदवारको भागबण्डाबारे छलफल भइरहेको छ ।
यसका लागि अघिल्लो निर्वाचनमा जितेका पालिका तथा वडा र पछिल्लो निर्वाचनमा सम्बन्धित दलले प्राप्त गरेको मतलाई आधार बनाउने मोडालिटी तयार गरिएको छ ।
सोही आधारमा कुन पालिका र वडामा कुन दलले उम्मेदवार उठाउने भन्ने टुंगो लगाउने तयारी छ ।
ओली र प्रचण्ड निकट दुवै पार्टीका नेताहरुका अनुसार ६० र ४० को अनुपातमा भागबण्डा गरिएको छ । समझदारीअनुसार एमालेले ६० प्रतिशत पालिका र वठा तथा नेकपाले ४० प्रतिशत पालिका र वडामा उम्मेदवार उठाउने छन् ।
०७९ को पछिल्लो स्थानीय तह निर्वाचनमा एमालेले देशभर २ सय ६ पालिका र २ हजार १ सय ५२ वडा, तत्कालीन माओवादी केन्द्रले १ सय २१ पालिका, १ हजार ६२ वडा तथा तत्कालीन नेकपा एकीकृत समाजवादीले २० पालिका र १ सय ९१ वडा जितेका थिए ।
देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका, ४ सय ६० गाउँपालिका गरी कूल ७ सय ५३ स्थानीय तह र ६ हजार ७ सय ४३ वडा छन् ।
निर्वाचन आयोगले आगामी फागुनमा गर्ने गरी स्थानीय तहको निर्वाचन प्रक्रिया अघि बढाएको छ ।


प्रतिक्रिया