विराटनगर – नेपाली कांग्रेसले प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ । कांग्रेसले आज दिउँसो १२ बजे बस्ने प्रदेशसभाको बैठक स्थगित गर्न माग गरेको हाे ।
आजको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची छ । पार्टीभित्र छलफल गर्नुपर्ने र पार्टीका सभापति शेरबहादुर देउवा प्रदेश–१ का बाढी प्रभावित क्षेत्रको भ्रमणमा रहेका कारण बैठक रोक्न माग गरिएको कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले जानकारी दिए ।
कतिपय सांसद सभापतिको कार्यक्रममा सहभागी हुनुपर्ने भएकोले पनि बैठक स्थगित गर्न प्रदेशसभा सचिवालयसमक्ष लिखित माग गरिएको प्रमुख सचेतक केदार कार्कीले जानकारी दिए । प्रमुख सचेतक कार्कीले निवेदन दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
नेकपा एमालेबाट मुख्यमन्त्री बनेका आचार्यले एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी निर्माण भएसँगै प्रदेशसभामा बहुमत गुमाएका छन् । आचार्यले मुख्यमन्त्री नियुक्त भएको ५९ दिनपछि आज विश्वासको मत लिन लागेका हुन् ।
एमाले विभाजनपछि अल्पमतमा रहेका आचार्यले प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना छैन । ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । तर एमालेसँग ४१ प्रदेशसभा सदस्य छन् ।
प्रदेशसभामा विपक्षी गठबन्धनको पक्षमा ५० जना सांसद देखिएका छन् । गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने सहमति भएको भनिए पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत मुख्यमन्त्रीमा दाबी गरिरहेको छ ।
राप्रपा र अन्य साना दलसहित कांग्रेसका केही सांसदको समेत समर्थन लिएर आचार्यले सत्ता टिकाउन प्रयास गरेको सूचना विपक्षी गठबन्धनले पाएपछि देउवालाई प्रमुख कारण देखाएर बैठक रोक्न माग गरिएको स्रोतले बतायाे ।




प्रतिक्रिया