हेटौंडा- कहिलेकाहीँ एउटा सानो संयोगले मानिसको जीवनमा ठूलो अर्थ राख्छ। सर्लाहीका अवधेश यादवका लागि पनि बिहीबारको दिन त्यस्तै बन्यो।
काठमाडौंमा गाडीमा सिट नपाएपछि उनी परिवारसँगै घर जान पाएनन्। ‘म भोलि आउँछु’ भन्दै उनले गर्भवती श्रीमती, तीन छोरी र दुई भाइलाई छठ मनाउन घर पठाए। आफू भने काठमाडौंमै रोकिए।
तर, अर्को दिन घर पुग्ने उनको योजना कहिल्यै पूरा नहुने गरी बदलियो। परिवारलाई चढाएर पठाएको गाडी मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा दुर्घटनामा पर्यो। दुर्घटनाको खबर सुनेर हेटौंडा आइपुग्दा उनले आफ्ना परिवारका ६ सदस्य गुमाइसकेका थिए।
अवधेशले ३५ वर्षीया गर्भवती श्रीमती पुनमदेवी यादव, १० वर्षीया जेठी छोरी अनुकुमारी, ७ वर्षीया माइली छोरी दीक्षा र ५ वर्षीया कान्छी छोरी दीपिकालाई गुमाए। त्यही दुर्घटनामा उनका २६ वर्षीय सहोदर भाइ विकेश यादव र २४ वर्षीय सहोदर भाइ सुबोध यादवको पनि मृत्यु भयो।
एकैपटक परिवारका ६ सदस्य गुमाएका अवधेश अहिले आफैं हेटौंडा अस्पतालको आकस्मिक कक्षमा उपचाररत छन्। घटनापछि उनी विक्षिप्त बनेका छन्। असहज महसुस गर्न थालेपछि चिकित्सकको निगरानीमा उनको उपचार भइरहेको छ। उनको रक्तचाप घटेको र स्वास्थ्यमा समस्या देखिएको बताइएको छ।

अवधेशका लागि दुर्घटनाको पीडा अझ असह्य बनाउने अर्को खबर पनि छ। दुर्घटनामा घाइते भएका उनका डेढ वर्षका छोरा सुदीप काठमाडौंमा उपचाररत छन्। परिवारका ६ सदस्य गुमाउँदा उनीसँग बाँकी रहेका सन्तानमध्ये एकमात्र छोरा पनि अस्पतालमा छन्।
छठ पर्व मनाउन उनीहरू काठमाडौंस्थित डेराबाट सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलस्थित घर फर्कंदै थिए। परिवारका सबै सदस्य एकै गाडीमा थिए। अवधेश भने सिट नपाएपछि उनीहरूसँग जान पाएनन्। परिवारलाई गाडीमा चढाएर आफू अर्को दिन आउने भन्दै उनी डेरामै फर्किएका थिए।
तर, बिहान सबेरै आएको दुर्घटनाको खबरले उनको जीवन नै बदलिदियो। आफूले घर पठाएका परिवारका सदस्यहरूमध्ये एक जना मात्र जीवित रहेको थाहा पाएपछि उनी विक्षिप्त बने। घटनालगत्तै उनी हेटौंडा आइपुगेका थिए।
मकवानपुरको भीमफेदीमा भएको उक्त दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। दुर्घटनाले कैयौँ परिवारलाई शोकमा डुबाएको छ। तर, अवधेशको परिवारमा परेको बज्रपात असाधारण छ। छठ मनाउन घर फर्कंदै गरेको परिवारका अधिकांश सदस्य एकै दुर्घटनामा परे।
काठमाण्डुमा सिट नपाएपछि परिवारसँगै जान नपाएका अवधेशका लागि त्यो दिनको छुटाइ अब जीवनभरको पीडा बनेको छ। जसलाई घर पुर्याएर आफू भोलिपल्ट भेट्ने आशा गरेका थिए, उनीहरूमध्ये अधिकांश कहिल्यै नफर्किने गरी बिदा भए।
अहिले उनी हेटौंडा अस्पतालको आकस्मिक कक्षमा छन्। शरीरमा देखिएको स्वास्थ्य समस्याको उपचार भइरहेको छ। तर, एकैपटक श्रीमती, तीन छोरी र दुई भाइ गुमाएको उनको मानसिक पीडा कति गहिरो छ भन्ने अनुमान गर्न पनि कठिन छ।
तस्बिर : सरला अधिकारी/नेपाल फोटो लाइब्रेरी


प्रतिक्रिया