प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म इजलासमा नबस्ने न्यायाधीशहरुको लिखित निर्णय

प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म इजलासमा नबस्ने न्यायाधीशहरुको लिखित निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र समसर जबराको राजीनामा नआएसम्म इजलासमा नबस्ने निर्णय गरेका छन् ।

सोमबार सर्वोच्चमा बसेको बहुमत न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएर मार्गप्रशस्त्र नगरेसम्म इजलासमा नबस्ने लिखित निर्णय गरेको हो । उनीहरुले मंगलबार प्रधानन्यायाधीशलाई भेटेर लिखित रुपमा राजीनामा दिन आग्रह गर्ने भएका छन् ।

न्यायालयभित्र विकृति फैलाउने काम गरेको भन्दै न्यायाधीशहरुले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आएका छन् । तर, सरकारको समर्थनमा उनले राजीनामा नदिने मनस्थितिमा पुगेका छन् ।

सर्वोच्चमा रहेका २० जना न्यायाधीशमध्ये १४ जना उनको विरुद्धमा छन् । सर्वोच्चका न्यायाधीशहरू अनिलकुमार सिन्हा र सपना मल्ल प्रधान आइतबारदेखि नै बिदा बसेका छन् । न्यायाधीश ईश्वर खतिवडा पनि दशै अघिदेखि अमेरिकामा छन् । अर्का न्यायाधीश हरिकृष्ण कार्की पनि सोमबारबाट बिदामा बसेका छन् ।

वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीसहित न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुङ्गाना र सुष्मालता माथेमा प्रधानन्यायाधीशमाथि छानबीन हुनुपर्ने पक्षमा छन् ।

न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुंयाल र नहकुल सुवेदी तटस्थ भुमिकामा छन् । तर, उनिहरु पनि न्यायालयको विश्वसनियतालाई जोगाउनुपर्ने पक्षमा छन् । राणाको पक्षमा न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा र कुमार चुडाल रहेका छन् ।