काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको खेलमा काठमाण्डु गोर्खाज सुदूरपश्चिम रोयल्ससँग ७ रनले पराजित भएको छ ।
सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाण्डुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो । काठमाण्डुलाई हराएसँगै सुदूरपश्चिम १० अंकसहित प्लेअफमा पुगेको छ।
काठमाण्डुका लागि राशिद खानले सर्वाधिक ३५ रन बनाए । उनले ३१ बलमा ५ चौका प्रहार गरे । दुशान हेमान्थाले १८ बलमा २१ रन जोडे । जाहन्दाद खान ५ रनमा अविजित रहे ।
अन्य ब्याटरले भने उल्लेख्य योगदान दिन सकेनन् । साम हिजलेट ११, सन्तोष यादव १०, मोहम्मद आदिल आलम ८, कप्तान करण केसी ८, भीम सार्की र सहान आराचिगे शून्य रनमा आउट भए ।
सुदूरपश्चिमका अनिल खरेलले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । स्कट कुगेलेइन, हेमन्त धामी र फाबियन एलेनले समान एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो ।
एक समय ८ रनमै चार विकेट गुमाएर संकटमा परेको सुदूरपश्चिमलाई कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकले सम्मानजनक योगफलसम्म पुर्याएको थियो ।
दीपेन्द्रले ५५ बलमा ५ चौका र २ छक्काको मद्दतमा ६० रन बनाए । उनले आरिफ शेखसँग मिलेर पाँचौँ विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । आरिफले २५ बलमा १६ रन बनाए ।
त्यसपछि क्रिजमा आएका थारिन्दु रत्नायकेले २३ बलमा अविजित २६ रन जोडे । फाबियन एलेन २ रनमा अविजित रहे ।
सुदूरपश्चिमका सुरुआती चार ब्याटरमध्ये स्कट कुगेलेइनले ६ र विनोद भण्डारीले १ रन बनाए । ब्रान्डन म्याकमुलन र ईशान पाण्डे खाता नखोली आउट भए ।
काठमाण्डुका जाहन्दाद खानले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । सन्तोष यादवले ३ ओभरमा १६ रन दिएर २ विकेट हात पारे ।
यस खेलमा सुदूरपश्चिमबाट वेस्ट इन्डिजका अलराउन्डर फाबियन एलेनले डेब्यु गरेका थिए । सुदूरपश्चिमले अविनाश बोहरा र सैफ जैबको स्थानमा दीपक बोहरा र एलेनलाई टोलीमा समेटेको थियो ।
यो हारपछि काठमाण्डुले प्लेअफ यात्रा तय गर्न अर्को खेल पर्खिनुपर्ने छ। काठमाण्डुले लिग चरणको आफ्नो अन्तिम खेलमा पोखरा एभेन्जर्स खेल्नेछ।
काठमाण्डुले समूह चरणका चार खेलमा जित र दुई खेलमा हारसहित आठ अंक लिएर तालिकाको तेस्रो स्थानमा छ।
डेभिड वार्नर गएपछि काठमाण्डु गोर्खाजले पहिलो पटक खेलेको थियो । वार्नरले एनपीएलमा चार खेल खेल्दा काठमाण्डुले चारवटै खेल जितेको थियो । काठमाण्डुबाट दुशान हेमान्था र साम हिजलेट पनि खेलेका थिए ।


प्रतिक्रिया