काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश विवादमा आफ्नो पार्टी नबोल्ने बताएका छन् । मंगलबार बिहान प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतभित्रको अशोभनीय गुटबन्दीमा आफुुहरु नपस्ने बताएका हुन् ।
‘हामीलाई सर्वोच्च अदालतको अशोभनीय गुटबन्दी वा दाउपेचमा फस्नु छैन । हाम्रो चिन्ता अदालतलाई जनताले विश्वास गर्ने, राज्यको एउटा विश्वसनीय र महत्वपूर्ण अंगका रूपमा राख्ने हो’, उनले भने । ओलीले यसअघि सुशीला कार्की प्रधानन्यायाधीश हुँदा नै जबराबाट संविधान मिच्ने काम भएको बताए ।
उनले त्यही पुरानो परम्परा दोहोरिएको चर्चा गर्दै के सर्वोच्च अदालतले संविधान मान्नुपर्दैन भन्दै आक्रोश प्रकट गरे । ओलीले यो मुलुक संविधानबमोजिम चल्ने कि उहाँहरूको इच्छाबमोजिम भन्दै प्रधानन्यायाधीशप्रति लक्षित टिप्पणी गरे ।
प्रधानन्यायाधीश जबराका जेठान गजेन्द्र हमाल मन्त्री बनेपछि उनीविरुद्ध सर्वत्र राजीनामाको माग बढेको छ । यसै बेला ओलीले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउने वा उनको राजीनामा माग्ने भन्ने विषयमा पार्टीको कुनै धारणा नरहेको तटस्थताको सन्देश दिएका हुन् ।




प्रतिक्रिया