चोलेन्द्रले मात्रै किन राजीनामा दिने, पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्छः अध्यक्ष ओली

चोलेन्द्रले मात्रै किन राजीनामा दिने, पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्छः अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन पाँच जना न्यायाधीशहरुलाई आग्रह गरेका छन् ।

मंगलबार एमालेको पालिका अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले परमादेश दिने पाँचै जना न्यायाधीशहरुलाई राजीनामा दिन आग्रह गरेका हुन् । उनले प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराको राजीनामा माग्दै पाँच जना न्यायाधीशहरुलाई पनि माग्रप्रशस्त गर्न आग्रह गरेका हुन् ।

‘परमादेश त पाँच जनाले गर्नुभएको थियो । एक जनासँग मात्र किन राजीनामा माग्नुहुन्छ ? पाँचै जनाले राजीनामा दिनु उपयुक्त होइन र ?,’ अध्यक्ष ओलीले भने, ‘न्यायाधीशहरू आफैं कसले के–के गरेको थियो भनेर उधिन्न थाल्नुभएको छ । आफैं उधिन्दै जाँदा विभिन्न कुरा निस्किन थालेका छन् । यदि परमादेश पाँचै जनाले गर्नुभएको थियो भने एकजनाले मात्र किन राजीनामा दिने ?’

उनले न्यायाधीशहरुले अहिले सर्वोच्च अदालतको मानमर्दन गरिरहेको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले जनतालाई मर्का परेको विषय पेन्डिङमै रहेको बताउँदै नक्कली मुद्दा खडा गरेर अदालतलाई राजनीतिको केन्द्र बनाउने काम भइरहेको बताए ।

‘यो न्यायाधीश राख्नुहुन्छ यो राख्नुहुन्न भन्ने । यो राखे आफू नबस्ने भन्ने । बारले इजलास गठन गर्ने । अधिवक्ताले इजलास गर्ने । पोल खोलाखोल गर्दै गर्ने । यो ठीक भएन,’ उनले भने, ‘के न्यायालयप्रति न्याय पाइन्छ भन्ने विश्वास छ ?जनतालाई मर्का परेको विषय पेन्डिङमै छ । नक्कली मुद्दा खडा गरेर अदालतलाई राजनीतिको केन्द्र बनाने काम भइरहेको छ ।’