काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको बताएका छन् । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको ६८औँ स्थापना दिवसका अवसरमा नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले अदालतको परमादेशले संसद्, संविधान र लोकतन्त्र बचाएको बताएका हुन् ।
“केपी शर्मा ओलीलाई संसद् भङ्ग गर्ने अधिकार संविधानले दिएको थिएन, संविधानले नदिएको अधिकारलाई दुई/दुईपटक प्रयोग गर्दा सर्वोच्च अदालतले संविधान बचाएको हो,” उनले भने । पाँच दलको गठबन्धनबाट बनेको सरकारसँग स्पष्ट बहुमत रहेकाले जनादेश छैन भन्नुको कुनै अर्थ नरहेको प्रधानमन्त्री देउवाले बताए ।
प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश र अदालतका बारेमा सरकार र आफ्नो पार्टीले केही नबोल्ने बताएका छन् । उनले भने , “यो अदालतभित्रको कुरा हो, उसैले यसको समाधान निकाल्न सक्छ ।” उहाँले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीबाट भर्खरै राजीनामा दिएका गजेन्द्र हमाल कांग्रेसकै नेता भएको समेत स्पष्ट पारे ।




प्रतिक्रिया