एमालेले चार वटै प्रदेशमा गुमायो सरकार, संघ र प्रदेशमा ‘पूर्ण प्रतिपक्ष’

एमालेले चार वटै प्रदेशमा गुमायो सरकार, संघ र प्रदेशमा ‘पूर्ण प्रतिपक्ष’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले संघसहित प्रदेशमासमेत सरकार विहीन बनेको छ । तत्कालीन वाम गठबन्धनमा सातमध्ये चारवटा प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाएको एमाले साेमबारबाट केन्द्रदेखि प्रदेशसम्म नेतृत्व विहीन बनेको हो ।

आज प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएसँगै एमालेले सातै प्रदेशमा आफु नेतृत्वको सरकार गुमाएको हो । योसँगै अब एमाले केन्द्र र प्रदेशमा ‘पूर्ण प्रतिपक्ष’ बनेको छ ।

प्रदेश १ मा एमाले एकल बहुमतमा रहे पनि पार्टी विभाजित हुँदा १० भदौमा नियुक्त भएका आचार्यले १५ दिनमै सरकार छाडेका हुन् । यसअघि गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल र वागमतीमा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार गुमिसकेको छ ।

संघमा अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार गत २८ असारमा परिवर्तन भएको थियो । माधव नेपाल समूहले विपक्षी गठबन्धनलाई समर्थन गरेपछि ओली नेतृत्वको सरकार ढलेको हो । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि ओलीले सरकार छोडेका थिए ।