भीमफेदी दुर्घटनाको छानबिन गर्न समिति गठन

भीमफेदी दुर्घटनाको छानबिन गर्न समिति गठन

यथाशीघ्र क्षतिपूर्ति उपलब्ध गराइने सरकारको आश्वासन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मकवानपुरको भीमफेदीमा बिहीबार भएको यात्रुवाहक सवारी दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय समिति गठन गरेको छ ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । दुर्घटनाको वास्तविक कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन तयार पार्न समिति गठन गरिएको कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले जनाएका छन् ।

त्यस्तै, सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित बिमा कानुनअनुसार घाइतेहरूको उपचार खर्च र मृतकका परिवारले प्राप्त गर्ने क्षतिपूर्ति तथा बिमा रकम यथाशीघ्र उपलब्ध गराउन सम्बन्धित सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाएको छ ।

बिहीबार बिहान भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी-कुलेखानी-काठमाण्डु सडकखण्डमा सञ्चालन भएको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको सवारी साधन अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खस्दा १४ जनाको ज्यान गएको थियो भने ६ जना घाइते भएका थिए।

छठ पर्व मनाउन घर जाने क्रममा दुर्घटनामा परी ज्यान गुमाउने यात्रुमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका र एकजना चालक कविलासी नगरपालिकाका बासिन्दा छन् ।

सरकारले दुर्घटनामा घाइते भएकाहरूको उपचारलाई उच्च प्राथमिकतामा राखेको र स्वास्थ्योपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई आवश्यक निर्देशन दिइसकेको जनाएको छ ।