चीन जान लागेका रास्वपा नेताहरूलाई प्रधानमन्त्रीको सुझाव, ‘घुम्ने मात्रै होइन, नेपालको हितमा काम गर्नुस्

चीन जान लागेका रास्वपा नेताहरूलाई प्रधानमन्त्रीको सुझाव, ‘घुम्ने मात्रै होइन, नेपालको हितमा काम गर्नुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाहले यही कात्तिक २९ मा चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदहरूलाई भ्रमणलाई उपलब्धिमूलक बनाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री शाहले सिंहदरबारमा बोलाएर भ्रमणमा सहभागी हुन लागेका सांसद तथा नेताहरूसँग छलफल गरेर उक्त सुझाव दिएका रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले बताए।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिन आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि १० दिने चीन भ्रमणमा जाँदैछ ।

भ्रमणअघि भएको भेटका क्रममा प्रधानमन्त्री शाहले चीन भ्रमण घुमघाम र औपचारिक भेटघाटमा मात्रै सीमित हुन नहुनेमा जोड दिए । शाहले दुई देशबीचको सम्बन्ध र नेपालको हितका दृष्टिले फलदायी हुनुपर्ने विषयमा सुझाव दिएको पराजुलीले बताए ।

प्रधानमन्त्री शाहले भ्रमणका क्रममा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने र चीनबाट नेपालले लिन सक्ने लाभका विषयलाई प्राथमिकता दिन निर्देशन दिए । व्यापार, प्रविधि, पर्यटन, कृषि तथा आधुनिक कृषि उपकरणका क्षेत्रमा सहकार्यका सम्भावना पहिचान गर्न पनि उनले आग्रह गरे ।

‘१० दिनको भ्रमण लामो हो । त्यसबीचमा धेरै काम गर्न सकिन्छ । वर्षौंदेखि नेपाल–चीन सम्बन्धमा देखिएका दरार, समझदारीलगायत विविध विषयमा कुरा गर्न सकिन्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै पराजुलीले भने, ‘नेपाल-चीन सम्बन्धमा देखिएका अप्ठ्यारा र समस्याका विषयमा पनि छलफल गरेर समाधानका उपाय खोज्दा राम्रो हुन्छ ।’

प्रधानमन्त्री शाहले भ्रमणले दुई देशको हित, विशेषगरी नेपालको हितलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका थिए ।

‘चीनबाट हामीले व्यापार, प्रविधि, पर्यटन, कृषि र आधुनिक कृषि उपकरणलगायतका क्षेत्रमा थुप्रै काम गर्न सक्छौँ । भ्रमणले दुई देशबीचको हित र विशेषगरी नेपालको हितलाई थप सुदृढ बनाउन सकोस् । सामाजिक, आर्थिक र पर्यटकीय हिसाबले पनि भ्रमण सफल होस्,’ प्रधानमन्त्रीको निर्देशन थियो ।

चीन भ्रमणमा महामन्त्री आचार्यसहित रास्वपाका शीर्ष नेता, सांसद तथा विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी हुँदैछन् ।

भ्रमण टोलीमा गणेश पराजुली, हरि ढकाल, कवीन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापालगायत सहभागी हुने छन्।