प्रचण्डका शक्तिशाली घरबेटी : अलपत्र सड्क निर्माण सुरु गर्न माग राख्दै मन्त्री नै खुमलटार पुगे

प्रचण्डका शक्तिशाली घरबेटी : अलपत्र सड्क निर्माण सुरु गर्न माग राख्दै मन्त्री नै खुमलटार पुगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरभेटी शारदा अधिकारीले भक्तपुर नगरकोट सड्क निर्माण अलपत्र पारेका छन् । अधिकारीले ठेक्का लिएको सात वर्षभन्दा बढी भएपनि सडक निर्माण अझै सम्पन्न नभएपछि स्थानियले विरोध गर्दै आएका छन् ।

अधिकारीले वर्षौअघि लिएको सडक निर्माण नगरेपछि वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भंडेल कात्तिक १६ गते दाहाललाई भेट्न उनकै निवास पुगेका छन् ।

भेटमा भक्तपुरका बासिन्दा समेत रहेका भंडेलले सडक निर्माण छिटो सम्पन्न गर्न पहल गरिदिन दाहाललाई आग्रह गरेको स्रोतले बतायो । उनले समयमै नगरकोट सड्क नबन्दा स्थानिय र पर्यटकहरुले दुख पाएको भन्दै पहलका लागी आग्रह गरेपछि दाहालले पहल गर्ने आश्वासन दिएका थिए ।

उनले प्रचण्डका घरबेटी समेत रहेका निर्माण व्यवसायी अधिकारीलाई त्यहीबाट टेलिफोन गरेको र उनले आगामी ४५ दिनभित्र निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाएको बताइन्छ ।

मन्त्री भंडेलले भेटमा अधिकारीका कारण सडक निर्माणमा ढिलासुस्ती भएको र त्यसले अध्यक्ष दाहाललाई समेत राम्रो नगरेको भन्दै वर्तमान सत्ता गठबन्धनको समेत इज्जत बढाउन समयमै काम सम्पन्न गरिदिन आग्रह गरेका थिए ।

अधिकारी माओवादी अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्माका विश्वास पात्र हुन । उनलाई यसअघि माओवादीले समानुपातिक सांसदको सूचीमा राखेको थियो । उनले नगरकोट सडक कालोपत्रे नगरेपछि स्थानियले उनको फोटो बिजुलीका पोलपोलमा र सवारी साधनमा टांसेर विरोध जनाएका थिए ।

ठेक्का लिएको लामो समयसम्म उनले सडक कालोपत्रे सुरू नगर्दा आक्रोशित स्थानीयले फोटो टांसेर विरोध गरेपछि यसअघि काम सुरू भएको थियो । तर, पछिल्लो समय फेरी काम अघि नबढेको स्थानियको भनाई छ ।

अधिकारीले भक्तपुर र काठमाण्डुका अन्य आयोजनाको ठेक्कामा समेत काम अलपत्र पारेका छन् । उनले मोबिलाइजेसनको रकम लिने तर ठेक्का अलपत्र पार्ने गरेको गुनासो छ । त्यो रकमलाई अधिकारीले यसअघि घरजग्गा कारोबारमा लगाउने गरेको उनि निकट स्रोत बताउंछ ।

अधिकारीले जहां ठेक्का लियो त्यही अलपत्र पार्ने गरेको र शक्तिको आडंमा अरु ठेक्काहरु हत्याउने गरेको आरोप छ ।

अधिकारीको शैलुंग इन्टरप्राइजेज प्रालीलाई सरकारले यसअघि २ वर्षका लागि कालो सूचीमा राखेको थियो । उनले गत वर्ष मल आयात गर्ने ठेक्का पाए पनि समयमा मल आयात नगरेको भन्दै कृषि सामाग्री कम्पनी लिमिटेडले कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो ।

तत्कालिन गृहमन्त्री रामबहादुर थापाले अधिकारीलाई कार्वाही गर्न खोजेपनि अध्यक्ष दाहालले दबाव दिएपछि उनि पछि हटेका थिए । त्यसपछि दुवै जनाको सम्बन्धमा चिसोपना आएको हो । हाल बादल एमालेमा प्रवेश गरिसकेका छन् ।