काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किङ्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र जनकपुर बोल्ट्स समूह चरणबाट बाहिरीएका छन् ।
विदेशी खेलाडीको अनुभव र क्षमतामा भरोसा गर्दै मैदानमा उत्रिएका यी चार टोलीले अपेक्षित नतिजा निकाल्न नसक्दा प्लेअफमा स्थान बनाउन सकेनन् । महँगा, अनुभवी तथा चर्चित विदेशी खेलाडीलाई टोलीमा भित्र्याए पनि उनीहरूको प्रदर्शनले टोलीलाई उपाधि होडमा कायम राख्न सकेन ।
विराटनगर किङ्सले आन्द्रे रसेल, चरिथ असलंका र इसुरु उदानाजस्ता अनुभवी खेलाडीलाई टोलीमा समावेश गरेको थियो । त्यस्तै पोखरा एभेन्जर्सले शाकिब अल हसनलाई मैदानमा उतारेको थियो ।

कर्णाली याक्सले डेभिड मिलर र मार्क वाटजस्ता विश्वचर्चित खेलाडी भित्र्याएको थियो भने जनकपुर बोल्ट्सले मोइन अली र जेम्स निशमलाई अनुबन्ध गरेको थियो । तर विदेशी खेलाडीको उपस्थितिले मात्रै टोलीको प्रदर्शनमा अपेक्षित सुधार आउन सकेन ।
ब्याटिङतर्फ विदेशी खेलाडीमध्ये विराटनगरका आन्द्रे रसेलले सर्वाधिक रन बनाएका छन् । पाँच खेल खेलेका रसेलले १४४ रन जोडेका छन् । त्यस्तै जनकपुरका मोइन अलीले चार खेलमा १०८ रन बनाउँदा कर्णालीका डेभिड मिलरले तीन खेलमा १०५ रन बनाएका छन् ।

अन्य विदेशी खेलाडीको ब्याटिङ प्रदर्शन भने तुलनात्मक रूपमा कमजोर रह्यो । बलिङतर्फ कर्णालीका मार्क वाटले सर्वाधिक ९ विकेट लिएका छन् । पोखराका शाकिब अल हसन र विराटनगरका चरिथ असलंकाले समान ४ विकेट हात पारेका छन् ।
शनिबारको निर्णायक खेलमा लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित भएपछि विराटनगर किङ्सको यात्रा समूह चरणमै समाप्त भएको थियो ।
यससँगै एनपीएलको प्लेअफमा पुग्ने चार टोलीको टुङ्गो लागेको छ । लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितवन राइनोजले उपाधि होडलाई कायमै राखेका छन् ।

लुम्बिनी ७ खेलमा ५ खेल जितेर ११ अंकसहित शिर्ष स्थानमा रहेको छ भने ७ खेलमा ५ खेल जितेको सुदूरपश्चिम १० अंकसहित दोस्रो स्थानमा रहेको छ । यस्तै ६ खेलमा ४ खेल जितेको काठमाण्डु ८ अंकसहित तेस्रो स्थानमा छ भने ६ खेलमा ३ खेल जितेको चितवन चौथो स्थानमा छ । उसले ७ अंक जोडेको छ ।



प्रतिक्रिया