काठमाण्डु – नेपाल पर्यटन बोर्डका सिईओ धनन्जय रेग्मी र भन्सार विभागका कर्मचारीबीच विवाद भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सिइओ रेग्मी र भन्सारका नासु सुमन थापाबीच विवाद भएको हो ।
शनिबार बिहान भाईटिकाको दिन लण्डनबाट नेपाल आएका यात्रु (रेग्मी)ले कर्मचारीलाई दुव्र्यवहार गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले जानकारी दिए । उनले ड्युटीमा खटिएका कर्मचारीमाथि दुव्र्यवहार गरेपछि यात्रुलाई जरिवाना लिएर छोडिएको बताए ।
कारबाहीमा परेका यात्रुको नाम नखुलाउने सर्तमा उनले भने, ‘एक जना यात्रुले ड्युटीमा खटिएका कर्मचारीमाथि दुव्र्यवहार गरे । उनलाई हामीले पाँच हजार रुपैयाँ जरिवाना गरेर छोड्यौं ।’
यता कारबाहीमा परेका रेग्मीले विमानस्थलका कर्मचारीले आफूमाथि दुव्र्यवहार गरेको दाबी गरे । उनले आफूले ६ बोतल रक्सी ल्याएको र उक्त नियम अनुसार नै भएको दाबी गरे । सीईओ रेग्मीले आफूले हवाईजहाजमा मदिरा सेवन नगरेको बताउँदै भन्सारका कर्मचारीले आफूलाई फसाउन मापसे सेवन गरेको रिपोर्ट बनाएको बताए ।
‘विदेशबाट आउँदा एक जनाले एक बोतल रक्सी ल्याउन पाउने नियम अनुसार ड्यूटीफ्रिबाट ६ बोतल रक्सी पनि किनेर ल्याएका थियौं । म सीसीएमसी, अध्यागमन र भन्सार तीन वटै चेकजाँच पुरा गरी अगाडी बढिसकेको थिए । ६ जना साथिहरुकै रक्सीको ब्याग मैले बोकेको थिए । जब म भन्सारको चेकिङ पुरा गरेर अगाडी बढ्न खोजे, एक जना भन्सारको कर्मचारीले त्यसलाई समात, भन्दै तँ तँ म म बोल्दै मलाई रोक्न खोजे । त्यो क्रममा मेरो हातमा ब्याग भएको कारण ब्याग स्वीङ हुने क्रममा उहाँलाई धकेलियो,’ उनले भने ।
उनले विमानस्थलमा भन्सार, अध्यागमनका कर्मचारीको व्यवहारकै कारण नेपाल आउने पर्यटकहरुले दुःख पाउने बताउँदै त्यसविरुद्ध चुप लागेर नबस्ने बताए । सिईओ रेग्मीले यसबारे पर्यटनमन्त्री प्रेम आलो र सचिव सबै जनालाई ब्रिफ्रिङ गर्ने पनि बताए ।




प्रतिक्रिया