काठमाण्डु- थाइल्यान्डबाट नेपाल आएका एक भारतीय नागरिक साढे ५ किलो सेतो हेरोइनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार पक्राउ पर्नेमा भारतको महाराष्ट्रस्थित पुणेका ५२ वर्षीय रेवराज तिघारे रहेका छन्। उनलाई शनिबार विमानस्थलमा चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो।
ब्यूरोको विमानस्थल शाखामा खटिएको प्रहरी टोलीले शंकास्पद यात्रुको प्रोफाइलिङ गर्ने क्रममा तिघारेको सामान जाँच गर्दा लगेजभित्र खरायो र बिरालोको खानाका प्याकेटमा लुकाएर राखिएको ५.५ किलो सेतो हेरोइन फेला पारेको थियो।
बरामद गरिएको ५.५ किलो हेरोइनको नेपाली बजार मूल्य प्रतिग्राम ४० हजार रुपैयाँका दरले २२ करोड रुपैयाँ हुने ब्यूरोले जनाएको छ। उक्त हेरोइन भारत पुर्याइएको अवस्थामा त्यहाँको बजारमा अझ महँगो पर्ने गर्छ।
ब्यूरोले पक्राउ परेका तिघारे अन्तर्राष्ट्रिय लागूऔषध कारोबारमा संलग्न सञ्जालका मुख्य व्यक्ति रहेको अनुसन्धानबाट खुलेको जनाएको छ।
अनुसन्धानका क्रममा उनी यसअघि पनि दुई पटक नेपाल आएको खुलेको छ। उनी सन् २०२५ नोभेम्बर ४ र २०२६ फेब्रुअरी २६ मा लाओसबाट नेपाल आएका थिए।
तीमध्ये पहिलो पटक हवाई मार्ग र दोस्रो पटक स्थलमार्ग हुँदै नेपालबाट भारतसम्म लागूऔषध पुर्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ।
उनले लाओससहित जिम्बाब्वे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडियासमेत भ्रमण गरिसकेको पाइएको छ। उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तिघारेमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।
उक्त परिमाणको हेरोइन कारोबारमा संलग्न भएको ठहर भएमा १५ वर्षदेखि जन्मकैदसम्मको कैद र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको ब्यूरोले जनाएको छ।


प्रतिक्रिया