सानेपाबाट भाग्दै देउवा, कार्यकर्ता छल्न ‘निजी निवास’मा पार्टीको बैठक

सानेपाबाट भाग्दै देउवा, कार्यकर्ता छल्न ‘निजी निवास’मा पार्टीको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस यतिबेला महाधिवेशनमा होमिएको छ । १४ औँ महाधिवेशनको सरगर्मी बढेको छ । तर पार्टीभित्रको विवादले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकाल त्यती सहज देखिएन । निर्वाचनमा पराजय देखि पार्टीमा वेथिती भित्र्याएको आरोप उनिमाथी छ ।

आफुहरु अन्यायमा परेको भन्दै कार्यकर्ताहरु १ सय १५ दिनदेखी पार्टी मुख्यालय सानेपामा धर्नामा छन् । तर देउवा भने समस्या समाधान गर्ने भन्दापनि भाग्दै उम्कने गरेका छन् । गत साउन पहिलो सातादेखि महाधिवेशन प्रतिनिधि चयन निष्पक्ष हुनुपर्ने माग राखेर कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिएको आइतबार ११५ दिन नाघेको हो ।

पार्टीको बैठक निजी निवासमा

पार्टीको केन्द्रीय कार्यालय सानेपामा कार्यकर्ता धर्नामा बसेपछि देउवा सानेपा जानै छाडेका छन् । पार्टीको काम कारवाही उनले बालुवाटारबाटै सञ्चालन गर्ने गरेको स्रोतले जनाएको छ । यद्यपी पार्टी बैठक भने उनले आफ्नो निजि निवास बुढानिलकण्ठमा डाक्ने गरेका छन् ।

प्रधानमन्त्री भएपछि बालुवाटारमा पार्टीको बैठक राख्दा आलोचना भएपछि उनले पार्टीको बैठक भने निजी निवासमा डाक्ने गरेका हुन् । आजको केन्द्रीय समितिको बैठक पनि उनले बुढानिलकण्ठमा बोलाएका छन् । सुरुमा सानेपा भनेर बैठक बोलाइएपनि पछि बुढानिलकण्ठमा सारिएको हो ।

रौतहटका कार्यकर्ता भन्छन् : सभापति देउवा भागे

क्रियाशिल सदस्यतामा विवाद देखिएकाले रौतहटका स्थानीय नेता कार्यकर्ता १ सय १५ दिनदेखि धर्नामा छन् । केन्दीय निर्वाचन समितिले क्रियाशिल सदस्यहरुको सूची सार्वजनिक गरेपनि त्यसमा असन्तुष्ट पक्ष अहिले पनि दिनहुँजसो धर्ना दिइरहेका छन् ।

धर्नाका कारण सभापति पार्टी कार्यालयमा उपस्थीत नै नभएको उनिहरुको गुनासो छ । सभापतिलाई आफ्नो गुनासो सुनाउन आएका उनिहरुले सभापतिको अनुहारनै देख्न पाएका छैनन् ।

‘रौतहट कांग्रेसले विधाविपरीत सदस्यको नामावली केन्द्रमा पठाएपछि हामी ८ साउनदेखि धर्नामा बसेका छौं । सभापतिबाहेक सबैजसो नेताहरू आएर सम्बोधन गर्नुभयो । तर, कसैले पनि हाम्रो मागको सुनवाइ अझैसम्म गरेनन्,’ रौतहटका स्थानीय नेता रामश्रीत साहले भने, ‘वडादेखि नै विधानविपरीत काम भएकाले हामीले निरन्तर बहिस्कार गर्दै आएका छौं, यो जारी रहनेछ ।’

उक्त धर्नामा रौतहटका कांग्रेस नेताहरु रामश्रीष साह, देवचन्द्र मिश्र, उदय यादव, भोगेन्द्र झा, वीरेन्द्र राय यादव, नमोनाथ यादव, रामविश्वास साहलगायतका नेताहरू सहभागि छन् ।