काठमाण्डु – नेकपा एमालेले ५८ जिल्लामा महाधिवेशन प्रतिनिधि छनौटको काम सम्पन्न गरेको छ । १०औं महाधिवेशनका लागि शनिबारदेखि सुरु भएको प्रतिनिधि छनौटको काम आइतबार साँझसम्म ५८ जिल्लामा सकिएको एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।
बाँकी १९ जिल्लामा भने विवादका कारण प्रतिनिधि छनौट हुन सकेको छैन । नेता भट्टराईले ५८ जिल्लाका साथै जनसंगठन, विभाग तथा विशेष कमिटी तर्फका सबै प्रतिनिधि सहमतिमै चयन भएको बताए । उनले प्रतिनिधि छनौट हुन बाँकी जिल्लाको समेत सोमबारसम्ममा सकिने बताए ।
एमालेले अहिले विभिन्न ठाउँमा सर्वसम्मत प्रतिनिधि छनौटका सूचना आईरहेको र कात्तिक ३० गते महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको छ ।
सदस्यता विवाद, प्रतिनिधि हुनेको नेताको संख्या बढी भएकाले कतिपय ठाउँमा निर्वाचनबाटै प्रतिनिधि छनौट भईरहेकाले केही ढिलाई भएको हो । एमालेले शनिबार देशैभरी एकै दिन महाधिवेशन प्रतिनिधि छनौट सुरु गरेको हो ।
यस्तै एमालेले केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसंगठन र प्रवासबाट समेत गरी ८५ प्रतिशतको हाराहारीमा प्रतिनिधिहरू निर्वाचित भइसकेको जनाएको छ ।
उदयपुरमा एक, झापामा २, रुपन्देही २, नवलपरासी, भक्तपुर र ललितपुरका एक एक क्षेत्रमा निर्वाचन भएको छ । बाँकीमा सहमतिकै आधारमा प्रतिनिधिहरू चयन भएका भएको छ । यस्तै केही जिल्लामा सदस्यता विवाद समेत देखिएको छ ।
प्रदेश नम्बर १ को पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, मोरङ, धनकुटा, सोलुखुम्बू, ओखलढुंगा, उदयपुर, खोटाङ र भोजपुर, बागमती प्रदेशको दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, चितवन र मकवानपुरमा प्रतिनिधि छनौट भईसकेको छ ।
यता, उपत्यका विशेष कमिटीतर्फ पेशागत, युवा विद्यार्थी, मजदुर र उद्योग व्यवसाय विशेष जिल्ला कमिटी, गण्डकी प्रदेशको गोरखा, लमजुङ, नवलपुर, तनहुँ, कास्की, स्याङजा, पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङ र मनाङ, लुम्बिनी प्रदेशको गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, रुकुम, रोल्पा, बाँके र बर्दिया जिल्लामा समेत प्रतिनिधि छनौट भईसकेको छ ।
कर्णाली प्रदेशको हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, रुकुमपश्चिम, सल्यान र सुर्खेत, सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, बझाङ र डडेल्धुरामा प्रतिनिधि चयन कार्य सम्पन्न भइसकेको छ भने कञ्चनपुर, कैलाली, अछाम, डोटी र बाजुराका केही क्षेत्रमा प्रक्रिया अझै जारी नै रहेको सचिव भट्टराईले जनाएका छन् ।




प्रतिक्रिया