साइकल खरिदमा भ्रष्टाचार भएको ठहर, विस्तृत छानविनपछि कारबाही : अख्तियार

साइकल खरिदमा भ्रष्टाचार भएको ठहर, विस्तृत छानविनपछि कारबाही : अख्तियार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गरेकाे छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका बर्दिबासका कार्यालय प्रमुख कृष्णप्रसाद सापकोटाले प्रारम्भिक अनुसन्धानका क्रममा प्रदेश २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ अभियान अन्तर्गत साइकल खरिदमा अनियमितता देखिएको बताए ।

‘प्रारम्भिक अनुसन्धानका क्रममा साइकल खरिदमा अनियमितता देखिएको छ’, सापकोटाले भने, ‘यसबारे विस्तृत अनुसन्धान सुरु गरेका छौँ ।’ अख्तियारले गत असोज १३ मा मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो ।

‘मुख्यमन्त्री बेटी पढाऔँ, बेटी बचाऔँ’ अभियान अन्तर्गत छात्रालाई वितरण गर्न खरिद गरिएको साइकलमा अनियमितता देखिएको भन्दै कागजात नियन्त्रणमा लिएको अख्तियार बर्दिबासको कार्यालयले अहिले अनुसन्धान गरिरहेको छ ।

सो विषयमा अख्तियार बर्दिबासका प्रमुख सापकोटाले प्रारम्भिक चरणमा अनियमितता भएको देखिएपछि छुट्टै अनुसन्धान अधिकृत नियुक्त भएर विस्तृतमा छानविन प्रक्रिया अगाडी बढेको बताए ।

आफ्नो वार्षिक प्रतिवेदन प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बुझाएपछि उनले भने, ‘विस्तृत छानविनमा पनि अनियमितता देखिए कानून बमोजिम कारबाही अगाडी बढ्छ ।’

प्रमुख सापकोटाले संलग्न अधिकारीहरुको बयान लिने र विभिन्न प्रमाणहरुलाई परीक्षण गर्नुपर्ने लगायतका प्रक्रिया पुरा गर्न डेढ÷दुई महिना लाग्ने बताए । प्रदेश प्रमुख मिश्रलाई बुझाइएको बार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ मा २ हजार ५९७ वटा भ्रष्टाचार सम्बन्धी उजुरी परेको उल्लेख छ ।

जसमध्ये १ हजार ४०१ उजुरी फस्र्योट भएको छ भने बाँकी उजुरी यस वर्षमा सारिएको छ । सबभन्दा बढी उजुरी स्थानीय तहमा भइरहेको भ्रष्टाचारसँग सम्बन्धित रहेको छ ।