काठमाण्डु – बन्दकर्ताले ललितपुरमा साझा बसमा तोडफोड गरेका छन् ।
नेत्रविक्रम चन्द विप्लव समूहको नेकपाले आह्वान गरेको नेपाल बन्दमा बस सञ्चालन गरेपछि बन्दकर्ताहरूले ललितपुरको कुमारीपाटी इटीचोकस्थित महायान पेट्रोलपम्प अगाडि बा५ख ८७५५ नम्बरको बसमा तोडफोड गरेका हुन् ।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशीलसिंह राठोरका अनुसार बसमा सामान्य क्षति पुगेको छ । नेकपाले मंगलबार नेपाल बन्दको आह्वान गरेपनि काठमाण्डु उपत्यकामा भने बन्दको प्रभाव सामान्य मात्रै देखिएको छ ।
पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरूमा गरिएको मूल्यवृद्धि तत्काल खारेज, गर्न सरकारलाई जनदबाब दिने भन्दै नेकपाले आज नेपाल बन्दको आह्वान गरेको थियो ।
सार्वजनिक सवारीहरू कम चले पनि निजी सवारी सडकमा निर्बाध गुडिरहेका छन् । सडकमा बिस्तारै सवारीको चाप बढ्दै गइरहेको छ । चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ भने देशका विभिन्न स्थानबाट बन्दकर्ता पक्राउ परेका छन् ।




प्रतिक्रिया