काठमाण्डु– चलचित्र ‘बाः एक योद्धा’ प्रदर्शनको ५१औँ दिनमा प्रवेश गरेको छ । असोज ९ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘बाः एक योद्धा’ ललितपुरको ग्वार्कोमा अवस्थित गुण सिनेमामा प्रदर्शनको ५१औँ दिन मानाएको हो ।
बक्सअफिसमा औसत देखिएको ‘बाः एक योद्धा’लाई पब्लिक रिभ्यू राम्रो मिल्दा यसपछिका कतिपय सिनेमा हलबाट बाहिरिसक्दा पनि यो भने केही हलमा अझै प्रदर्शनरत छ ।
हरि लम्सालको निर्देशनमा बनेको ‘बाः एक योद्धा’ले हालसम्म ३ करोड ५६ लाख ८ हजार १८१ रुपैयाँ ग्रसकलेक्सन गरेको बक्सअफिस रिपोर्ट छ । हरि लम्सालको डेब्यू निर्देशनमा बनेको चलचित्र नै ५१औँ दिन मनाउन सफल भएको हो ।
पारिवारिक भावना, बुवाको त्याग र संघर्षलाई मुख्य विषय बनाएको यो चलचित्रले सन्तानको भविष्य निर्माणका लागि अभिभावकले गर्ने समर्पण तथा वृद्धावस्थामा उनीहरूले भोग्नुपर्ने चुनौतीलाई कथामा प्रस्तुत गरेको छ ।
चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय रहेको छ ।
हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै रहेको छ ।
चलचित्रका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता रहेका छन् । अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माताका रूपमा छन् ।


प्रतिक्रिया