काठमाण्डु – इजलासमा फर्किएका सर्वोच्च अदालतका पाँच न्यायाधीशले नेपाल बार एसोसिएसनको आन्दोलनमा आफूहरूको समर्थन रहेको बताएका छन् । नेपाल बार र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसँगको छलफलमा पाँच न्यायाधीशले बारको आन्दोलनमा आफूहरूको समर्थन रहेको बताएका हुन् ।
न्यायाधीशको भनाइ उद्धृत गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘हामीहरू तपाईंभन्दा बाहिर छैनौं । आन्दोलनका कारण सेवाग्राहीले दुःख पाए । सेवाग्राहीबाट प्रश्न नउठोस् भनेर बन्दीप्रत्यक्षीकरणसहित सामान्य मुद्दा हेरेका हौँ र आफूहरू बाँकी न्यायाधीश (आन्दोलित न्यायाधीश) सँगै बारको बटमलाइनको साथमा छौँ ।’
छलफलका बेला बार पदाधिकारीले अदालतमा विकृति विसंगति बढेको भन्दै आन्दोलनमा असर पर्ने गरी मुद्दा नहेर्न र साथ दिन न्यायाधीशहरूसँग अनुरोध गरेका थिए । पाँच जना न्यायाधीश भेट्न बार अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष ईश्वरी खतिवडा, रक्षा बस्याल, सर्वोच्च बारबाट अध्यक्ष पूर्णमान शाक्य र सचिव ऋषिराम घिमिरे गएका थिए ।
सर्वोच्चका पाँच न्यायाधीश तेजबहादुर केसी, कुमार रेग्मी, कुमार चुडाल, मनोज शर्मा र बमकुमार श्रेष्ठ सोमबार र मंगलबारको बार पदाधिकारीको छलफलमा अनुपस्थित थिए ।




प्रतिक्रिया