भारतले यात्रा अनुमति नदिएपछि नेपाली भूमि हुँदै गणकहरु हिँडे छाङरु र तिंकरतर्फ

भारतले यात्रा अनुमति नदिएपछि नेपाली भूमि हुँदै गणकहरु हिँडे छाङरु र तिंकरतर्फ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  दार्चुलाको ब्यास गाउँपालिका–१ मा रहेका गाउँहरू छाङरु र तिंकरमा जनगणनाका लागि भारतले बाटो प्रयोग गर्न नदिएपछि जनगणना कार्यालय दार्चुलाको टोली नेपालकै बाटो भएर शुक्रबार उक्त स्थानतर्फ गएको छ ।

भारतीय बाटो प्रयोग गर्नका लागि भारतको पिथौरागढ जिल्लाको धार्चुला तहशिलसँग गत २६ कात्तिकमा नै अनुमति मागेको भए पनि हालसम्म अनुमति नदिएपछि स्वदेशकै बाटो भएर टोली उक्त क्षेत्रतर्फ गएको जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले जानकारी दिए ।

जनगणना कार्यालय दार्चुलाका सहायक जनणना अधिकारी र कार्यालय सहयोगी लोकेन्द्र टेर उक्त क्षेत्रमा जनगणनाका लागि गएका छन् । गणकले जान नसक्ने भनेपछि आफूहरूमात्र गएको सहायक जनगणना अधिकारी कार्कीले बताए । ‘जनणनाका लागि गएका छौँ । आज बेलुका ब्यास गाउँपालिका–२ दुम्लिङ बास बस्ने र भोलि उक्त क्षेत्रतर्फ जाने योजनामा छौँ, कार्कीले भने ।

दुम्लिङभन्दा माथिल्लो क्षेत्रमा बाटो अवरुद्ध भएकाले जान सक्ने अवस्था भए जाने नभए फिर्ता हुने उनको भनाइ छ । ‘महाकाली नदी किनारको मुलबाटो पूर्ण रूपमा भत्किएको छ रे, डाँडा चढेर जान सकिने भए जान्छौँ, नसकिने अवस्था भए फिर्ता हुन्छौँ’, उनले भने ।

जान सक्ने नभएमा सुपरिवेक्षकले ल्याएको फोन नम्बरमा सम्पर्क गरी यतैबाट सोधपुछ गरी जनगणना गरिने जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेको भनाइ छ । छाङरु गाउँमा ८१ र तिंकर गाउँमा ३२ गरी त्यस क्षेत्रमा ११३ परिवार रहेको उनले बताए ।

ब्यास गाउँपालिका–१मा पर्ने पाँचगाउँहरू कुटी, नाभी, गुञ्जी, तिंकर र छाङरु गाउँमध्ये कुटी, नाभी र गुञ्जीगाउँ भारतले अतिक्रमण गरेको छ । भारतले अतिक्रमण गरेकाबाहेक तिंकर र छाङरु गाउँमा नेपालको प्रशासनिक अधिकार कायम छ ।

छाङरु पुग्ने नेपालको बाटो वर्षादको बेला महाकाली नदीको कटानले तथा भारतले विस्तार गरिरहेको धार्चुला–लिपुलेक सडकका कारण ठाउँठाउँमा अवरुद्ध छ । नेपालतर्फ बाटो नभएकाले स्थानीयदेखि त्यस क्षेत्रमा पुग्ने नेपाली सुरक्षाकर्मीहरू समेत भारतको अनुमित लिएर जाने गरेका छन् ।