काठमाण्डु – नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको छ । शनिबार बारका महासचिव लीलामणि पौडेलले विज्ञप्तिमार्फत प्रधानन्यायाधीशको राजीनामा माग्दै चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
‘हामीले अदालतभित्र अत्याधुनिक हतियारसहितका दंगा प्रहरी प्रवेश गराउने र कानुन व्यवसायीमाथि बर्बर आक्रमण गर्ने कार्यको निन्दा र भर्त्सना गर्दै आन्दोलनका कार्यक्रम तय गरेका छौँ,’ पौडेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ । अदालतभित्र दंगा प्रहरीको प्रवेशको विरोधस्वरुप आइतबार बन्दी प्रत्यक्षीकरणबाहेकका कुनै मुद्दामा बहस पैरवी नगर्ने बारले निर्णय गरेको छ ।
यस्तै, सोमबार १० देखि १२ बजेसम्म देशभरका अदालतमा हातमा कालोपट्टी बाँधेर धर्ना, विरोधसभालाई निरन्तरता दिने, केन्द्रमा संसदमा रहेका सबै राजनीतिक दलका संसदीय दलमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ । त्यसैगरी मंगलबार हतम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादबाहेक कुनै पनि अदालत, न्यायाधीकरणहरूमा फिराद, प्रत्युत्तर, पुनरेदन रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने नगराइने बारको निर्णय छ ।
बुधबार नेपालका १८ वटा उच्च अदालत तथा उच्च अदालतका इजलास रहेका स्थानमा बृहत् विरोधसभा आयोजना गर्ने निर्णय गर्ने र ती कार्यक्रममा नेपाल बारका केन्द्रीय प्रतिनिधि पर्यवेक्षक रहने जनाइको छ । मंसिर ९ र १० गते बारले काठमाण्डु उपत्यकाका सबै बार इकाइका सदस्यको सहभागितामा सर्वोच्च अदालत केन्द्रित विरोध कार्यकर्म गर्ने र मंसिर २४, २५ र २६ गते पोखरामा हुने भनिएको राष्ट्रिय सम्मेलन स्थगित गरेको बारले जनाएको छ ।





प्रतिक्रिया