सरकार कांग्रेसलाई कमजोर बनाउने खेलमा लागेको छ : प्रदीप पौडेल

सरकार कांग्रेसलाई कमजोर बनाउने खेलमा लागेको छ : प्रदीप पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमाथि कांग्रेसको आन्तरिक राजनीतिमा हस्तक्षेप गरी गुटबन्दी बढाउन र पार्टी नेतृत्व कमजोर बनाउन खोजेको आरोप लगाएका छन्।

शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले सरकारले अन्य राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर पुरानै शैलीको राजनीतिक सिन्डिकेट खडा गर्न खोजेको दाबी गरे।

उनले कुन दलको सभापति कसलाई बनाउने, कसलाई बलियो बनाउने र कसको पार्टी कमजोर पार्ने भन्ने खेलमा सरकार लाग्नु लोकतान्त्रिक अभ्यासविपरीत भएको बताए।

बलियो जनमतसहित सरकार गठन भएको अवस्थामा जनताको अपेक्षाअनुसार काम गर्नुपर्नेमा अन्य दलको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्नु गलत भएको उनको भनाइ थियो।

विगतमा केही राजनीतिक दलका नेताहरूले गठबन्धनको सिन्डिकेटमार्फत् शासन सञ्चालन गर्न खोजेको र कांग्रेसले त्यसलाई तोडेको प्रसंग उल्लेख गर्दै पौडेलले अहिले फेरि त्यस्तै प्रवृत्ति दोहोर्‍याउन खोजिएको आरोप लगाए।

रास्वपा नेतृत्वको सरकारलाई आफ्नै जनमतअनुसार काम गर्न आग्रह गर्दै उनले अरू दलको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न सचेत गराए।

‘लोकतन्त्र भनेको विधिको शासन, जवाफदेहिता र फरक मतको सम्मान हो। जनताको विश्वास प्राप्त सरकारले अन्य दलमा गुटबन्दी र नियन्त्रणको राजनीति गर्नुभन्दा जनताको पक्षमा काम गर्नुपर्छ,’ पौडेलले भने।