प्रचण्डको दावी– प्रधानमन्त्री, राष्ट्रपति जोसुकै भए पनि देश माओवादी केन्द्रकै वरिपरि छ

प्रचण्डको दावी– प्रधानमन्त्री, राष्ट्रपति जोसुकै भए पनि देश माओवादी केन्द्रकै वरिपरि छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठनात्मक रूपमा अस्तव्यस्त र आत्मबल कमजोर हुँदा प्रतिक्रियावादीले टाउको उठाउने गरेको बताएका छन् ।

चितवनको टाँडीमा सोमबार बिहान आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेको घटनालाई ‘प्रतिक्रियावादी र प्रतिक्रान्तिको षड्यन्त्र’को संज्ञा दिएका हुन् ।

‘हामी (माओवादी) कमजोर हुँदा प्रतिक्रियावादी टाउको उठाउँदा रहेछन् । माओवादी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्ध उल्ट्याउन षडयन्त्र भएपछि हामीले सडकबाट विद्रोह गरेर प्रतिनिधिसभा पुनर्स्थापना गरायौँ,’ उनले भने ।

उनले एमाले प्रतिक्रान्तिकारी भएको आरोप लगाए । प्रचण्डले जनताको बलमा नै प्रतिनिधिसभा पुनस्थार्पना भएको दाबी गरे । त्यसका लागि पाँच दलीय गठबन्धन सडकमा उत्रिएको उनले बताए ।

‘बालुवाटारबाट गलहत्याएर बालकोट र सातै प्रदेशबाट गलहत्याएर घरघरमा प¥याउने काम जनताले गरेका छन्,’ उनले भने, ‘जनता र क्रान्तिकारीमा फेरि नयाँ आशा, भरोसा र विश्वास पैदा भएको छ । हामी सुस्ताएका थियौँ, अब फेरि जागेका छौँ भनेर जनतासामु भन्न सक्नुपर्छ ।’

अहिले राष्ट्रपति र प्रधानमन्त्री जोसुकै भए पनि देश माओवादीको वरपरै नै रहेको उनको दाबी छ । उनले भने, ‘प्रधानमन्त्री जोसुकै भए पनि, राष्ट्रपति जोसुकै भए पनि देश माओवादी केन्द्रकै वरिपरि छ ।’

दुई-दुई पटकको विघटन गरिएको प्रतिनिधि सभा पुनःस्थापना गराउँदै देशलाई प्रतिगनबाट जोगाउँदै यो अवस्थामा ल्याउन माओवादी केन्द्रले नेतृत्वदायी भूमिका निर्वाह गरेको प्रचण्ले दाबी गरे ।