मिलन पाण्डेले माफी माग्दै भने– साझा पार्टीसँगको एकीकरण गल्ती भयो

मिलन पाण्डेले माफी माग्दै भने– साझा पार्टीसँगको एकीकरण गल्ती भयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले साझा पार्टीसँग एकीकरण गरेर गल्ती भएको स्वीकारेका छन् । सोमबार कर्मा लामा तामाङको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता भएको नयाँ पार्टीलाई बधाई दिँदै संयोजक पाण्डेले दोस्रो पटक एकीकरण गरेर गल्ती भएको स्वीकारेका हुन् ।

‘गत मंसिरमा विवेकशील र साझा पार्टीको एकीकरण हुँदै गर्दा तपाईँहरूले ‘गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशिता’ मा अर्को पक्षको विश्वास गर्न सकिँदैन भन्नुभएको थियो । त्यहाँ तपाईंहरू सही साबित हुनुभयो,’ संयोजक पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले माफी माग्दै भनेका छन्, ‘तत्कालीन हिसाबबाट विवेकशील र साझाको एकीकरणको नेतृत्व मैले गरेको हुँदा म तपाईंहरु १३ जनासँग माफी माग्छु । हाम्रो उद्देश्य पवित्र थियो ।’

विवकेशील र साझा पार्टीबीच २०७७ मंसिरमा दोस्रोपटक एकीकरण हुँदा तत्कालीन उपाध्यक्ष राईसहित १३ जनाले एकीकरण प्रक्रियामा सहभागी नहुने निर्णय गरेका थिए । साझा पार्टीका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रको राजनीतिक एजेण्डामा स्पष्ट छलफल नभइ एकीकरण गर्नु नहुने उनीहरुको धारणा थियो ।

विवेकशीलका पूर्वसंयोजक उज्जवल थापाले पनि तत्काल साझा पार्टीसँग एकीकरण गर्नु नहुने अडान राखेका थिए । तर पार्टीमा बहुमत सदस्यले एकीकरण गर्ने निर्णय गरेका थिए । निर्वाचन आयोगले राई पक्षको नेपाल विवकेशील पार्टी दर्ता भएको प्रमाण पत्र आइतबार दिएको छ । त्यससँगै प्रतिक्रिया दिँदै पाण्डेले भनेका छन्, ‘तपाईंहरूलाई पार्टी दर्ताका निम्ति धेरै–धेरै बधाई छ । तपाईंहरूले सुसंस्कृत राजनीति, वैकल्पिक राजनीति र विवेकशील आन्दोलनलाई न्याय गर्नुहुनेछ र नेतृत्व गर्नुहुनेछ भन्ने विश्वास छ ।’

पाण्डेले त्यसबेला तत्कालीन साझा पार्टीका नेताहरुले लिखित रूपमा अग्रगामी, प्रगतिशील, मध्यवामपन्थी, संविधानवादलाई पूर्णतः पालना गर्ने, विगतका आन्दोलनका उपलब्धिलाई रक्षा गर्ने भनेको पनि स्मरण गराएका छन् । साथै, मौखिक रूपमा पनि व्यवस्था विरोधी एजेन्डा नबोक्ने सहमति र गणतन्त्र, सङ्घीयता, धार्मिक स्वतन्त्रता र समावेशिताबारे सहमति जनाएकाले त्यतिवेला एकीकरणको निर्णय लिइएको स्पष्टीकरण दिएका छन् ।