काठमाण्डु – प्रधानन्यायाधीश चोलेनद्र शमशेर राणाको राजीनामा माग्दै चरणबद्ध आन्दोलन गर्दै आइरहेको नेपाल बार एशोसिएसनले सभामुख अग्नि सापकोटालाई ज्ञापनपत्र बुझाएको छ ।
प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाउन माग गर्दै बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको टोलीले सोमबार सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाएको हो । न्यायपालिका शुद्धीकरण र विसंगति अन्त्यका लागि न्यायालयको नेतृत्वबाट राणालाई हटाउनुपर्ने बारको जिकीर छ ।
उनीहरुले ध्यानाकर्षणपत्रमार्फत प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याउन माग गरेका छन् । वर्तमान प्रधानन्यायाधीश राणाकै कारण न्यायपालिकामाथिको विश्वास गुम्न थालेको र अदालतमा विसंगति मौलाएको भन्दै नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आएको छ ।
प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने र प्रधानन्यायाधीशको इजलासमा बहस समेत नगर्ने बताइसकेको नेपाल बारले राणालाई विदा गर्नुपर्ने आधार, कारण र आरोपसहित ज्ञापनपत्र बुझाएको हो ।




प्रतिक्रिया