काठमाण्डु – नेपाली कांग्रेस जनसम्पर्क समिति बेलायतको निर्वाचन समिति विधान विपरित अघि बढेको छ । सभापति शेरबहादुर देउवा निकट मानिएका युवराज गुरुङले आफुखुसी बाँडेको क्रियाशील सदस्यतालाई निर्वाचन समितिले छानविन नै नगरी निर्वाचन प्रकृया अघि बढाएको छ ।
सभापति गुरुङ नेपाल आएका बेला क्रियाशील सदस्यता वितरणको जिम्मा कार्यबाहक सभापति महेश दाहाललाई दिइएको थियो । दाहालले समितिका पूर्वसभापति विनोदराज मोक्तानको संयोजकत्वमा क्रियाशील सदस्यता छानविन समिति गठन गरेपनि सभापति गुरुङ बेलायत फर्किए लगत्तै उक्त समितिलाई निष्क्रिय जस्तै बनाएका थिए ।
बेलायती नागरिकलाई पनि सदस्यता
प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा निकट मानिएका समिति सभापति गुरुङले घरमै बसेर आफु निकटलाई सदस्यता वितरण गरेका छन् । १४ औ महाधिवेशनमा आफु निकटलाई प्रतिनिधि बनाउन उनले सदस्यता वितरणमा एकलौटी गरेका छन् । उनले क्रियाशील सदस्यता २ हजार ९ बनाएका छन् ।
क्रियाशील सदस्यता छानविन नै नगरी निर्वाचन समिति अघि बढेपछि कांग्रेस केन्द्रीय कार्यालयमा उजुरी समेत परेको थियो । उक्त उजुरीबारे कुनै सुनुवाई नभएको नेपाली कांग्रेस जनसम्पर्क मञ्च बेलायतका पूर्व सचिव बिश्व घिमिरेले बताए । उनका अनुसार एउटै मानिसको नाम दोहोर्याइएको छ भने गैर नेपालीलाई पनि सदस्यता दिइएको छ । यसबारे छानबिन हुनुपर्ने उनको माग छ ।
निर्वाचन समिति विधान नहेरी अघि बढ्यो
नेपाली कांग्रेस जनसम्पर्क समिति बेलायतको विधान विपरीत निर्वाचन समितिले पदाधिकारीको संख्या थप गरेको छ । विधान संसोधन पारित नगरी पदाधिकारीको संख्या थप गरेर मनोनयनकालागि आह्वान गरेको हो ।
विधानमै नभएको वरिष्ठ उपाध्यक्ष पद खडा गरिएको छ भने नेपाली कांग्रेस जनसम्पर्क समिति बेलायतको विधानमा २ उपाध्यक्ष उल्लेख छ भने निर्वाचन समितिले ३ उपाध्यक्षकालागि उमेदवारी दिन आह्वान गरेको छ ।

कार्यसमितिकै पदाधिकारी निर्वाचन समितिमा
निर्वाचनलाई निष्पक्ष बनाउनको साट्टो कार्य समितिका सदस्यलाई नै निर्वाचन समितिमा राखिएको छ । जनसम्पर्क समितिका सल्लाहाकार सम्पुर्णनन्द ढुंगाना संयोजक रहेको निर्वाचन समितिमा महामन्त्री केशव भण्डारी र प्रवक्ता खुसी लिम्बुलाई सदस्य बनाइएको थियो ।
आफु निकटका प्रतिनिधि छानियो
२ हजार भन्दा बढी सदस्य बनाएपछि १४ जना प्रतिनिधि हुने विधानमा व्यवस्था भएकाले सभापति गुरुङले फर्जी नामावली संकलन गरेर आफु निकटका १४ जना प्रतिनिधि चुनेका छन् । विश्व घिमिरेले भने ‘निर्वाचनमा उमेदुवारी दिन त आह्वान गरियो तर सबै मानिस छानिसकेर उमेद्वारी दिएकालाई प्रकृया पुगेन भनेर फर्काइयो । पहिला पैसा जम्मा गर्नुपर्छ भनियो तर यसबारेमा निर्वाचन समितिले कुनै छलफल नै गरेन ।
शुल्क बुझाएका १४ जनाको पनि पैसा बुझाएको प्रमाण फेला परेन जसरीपनि पेलेरै जाने रणनीति अपनाए’ निर्वाचन समितिले उम्मेद्वारीको दाबी विरोध गर्ने समयनै नदिएको बताइएको छ ।
२ हजार ९ सदस्य भएको समितिको अधिवेशन ५० जनाको क्षमता भएको हलमा बोलाइनुले पनि शंका उत्पन्न भएको क्रियाशील सदस्यहरुले बताएका छन् । उपस्थिति समेत नगराइएको कार्यक्रममा सहभागिहरुले बताएका छन् । कार्यक्रममा ४० जनाको हाराहारीमा उपस्थिति रहेको बताइएको छ ।
चक्रिय प्रणाली लागू
अध्यक्षमा ४ जनाको उम्मेद्वारी परेपछि निर्वाचन समितिले चक्रिय प्रणली अनुसार आलोपालो अध्यक्ष बन्न दबाव दिएको छ । कांग्रेसको विधानमै नभएको आलोपालो प्रणाली लागू गरिएको छ । सभापतिमा हालका सभापति युवराज गुरुङ, उपसभापति महेश दाहाल उपभापति कोपिला सुब्बा र युवराज सिंहको उम्मेद्वारी परेको छ । कार्यसमिति भन्दा बाहिरकालाई उम्मेद्वारी दिन निषेध गरिएको जनाइएको छ । विधान अनुसार ३ बर्षको कार्यकाल भएपनि ४ जनालाई भाग पुग्ने गरि विशेष परिस्थितिको सुविधा लिएर ४ जनालाई नै एक एक बर्ष आलोपालो मार्फत सभापति बन्न भनिएको छ ।
जग हसाउने गरी बेइज्जत भयो
नेपाली कांग्रेस जनसम्पर्क मञ्चका पुर्वमहामन्त्री विश्व घिमिरेले कही नभएको जात्रा बेलायतमा देखिएको बताए । उनले भने, ‘विधानमै नभएको पद सिर्जना गरेर जग हसाउँने काम भयो, समितिकै बेइज्जत भएको छ ।’
उनले यो समितिलाई नेपाली कांग्रेसले मान्यता दिन नहुने बताए । उनले यो सबै प्रकृया खारेज गरि कांग्रेसको महाधिवेशन अगावै विधान सम्मत नेतृत्व चयन गर्न केन्द्रीय कार्यालयले निर्देशन दिनुपर्ने माग राखेका छन् ।
साथै बेलायतबाट महाधिवेशनमा भाग लिने प्रतिनिधिको नागरिकता छानविन गरेर मात्र स्वीकार गर्नुपर्ने माग राखेका छन् । उनले आफुहरुको उजुरीको छानविन गर्न समेत केन्द्रीय कार्यलयलाई आग्रह गरेका छन् ।




प्रतिक्रिया