भीमफेदी दुर्घटना : मृतक सबैको सामूहिक अन्त्येष्टि गरिने

भीमफेदी दुर्घटना : मृतक सबैको सामूहिक अन्त्येष्टि गरिने

चक्रघट्टा गाउँपालिकामा आज शोक बिदा, गाउँपालिकाले मृतकका परिवारलाई जनही ५० हजार रुपैयाँ दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मकवानपुरको चिसापानी गढीमा बिहीबार भएको गाडी दुर्घटनामा मृत्यु भएका सबै १४ जनाको सामूहिक अन्त्येष्टी गरिने भएको छ ।

मृतक १४ जनाकै पोस्टमार्टम भएको र सामूहिक अन्त्येष्टी गरिने चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले जानकारी दिए।

उनले मृतकको परिवारले पाउने क्षतिपूर्तिको विषयमा शुक्रबार बिहान छलफल गरिने र त्यसपछि हेटौंडा अस्पतालबाट शव लिएर जाने बताए ।

अध्यक्ष यादवले सुन्दरपुरका १३ जनाको एकै ठाउँमा अन्त्येष्टि गर्ने तयारी रहेको बताए।

दुर्घटनामा सर्लाही चक्रघट्टा गाउँपालिका –४, सुन्दरपुर गाउँका १३ जना र चालक कविलासी नगरपालिकाका एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार सुन्दरपुर गाउँका अवधेश यादवकी आठ महिनाकी गर्भवती श्रीमती २८ वर्षीया पुनम यादव, छोरीहरु ५ वर्षकी दीपिका, ७ वर्षकी दीक्षा र १० वर्षकी अनुकुमारी, भाइहरु २६ वर्षीय विकेश यादव र १७ वर्षीय सुधेश यादवको दुर्घटनामा मृत्यु भएको छ।

त्यस्तै, मृतकहरुमा हायस चालक सर्लाहीको कविलासी नगरपालिका –८, अगर्बा बस्ने ३० वर्षीय रवीशङ्करकुमार मण्डल, यात्रुहरु सुन्दरपुर गाउँका ३५ वर्षीय गुड्डु यादव, ३२ वर्षीया गायत्री यादव, २६ वर्षीय रामदुलार यादव, २४ वर्षीय सुवोध यादव, ३५ वर्षीय राकेश यादव र २८ वर्षीय छोटु राय भन्ने रामप्रसाद राय यादव रहेका छन्।

दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु भएपछि सुन्दरपुर गाउँ बिहीबारदेखि नै शोकमग्न बनेको छ। छठका कारण अन्यत्र उल्लास छाउँदा सुन्दरपुर गाउँमा भने रुवावासी छ।

छठ पर्व मनाउन मधेश प्रदेश ०३ –००१ ज ०८८० नम्वरको इभी हायस चढेर आएकाहरु बिहीबार बिहान काठमाण्डु–कुलेखानी–भीमफेदी सडक अन्तर्गत चिसापानीगढीमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा घाइते भएका सुन्दरपुरकै तीन वर्षीय सुजन यादवलाई काठमाण्डु, ३१ वर्षीय देवेन्द्र यादवलाई भरतपुर र १४ महिनाका सुदीप यादवलाई काठमाण्डुमा उपचार भइरहेको छ । यस्तै ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षमकुमार यादव र २६ वर्षीय देवेन्द्र यादव हेटौंडामा उपचारपश्चात डिस्चार्ज भइसकेका प्रहरीले जनाएको छ।

दुर्घटनापछि सर्लाहीको चक्रघट्टा गाउँपालिकामा शुक्रबार शोक बिदा दिइएको छ।

यसबीच दुर्घटनामा आफ्ना १३ जनाको मृत्यु भएपछि चक्रघट्टा गाउँपालिकाले मृतकका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले दुर्घटनामा ज्यान गुमाएका प्रत्येक मृतकका परिवारलाई जनही ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।