एमालेमा चुनाव हुने : अध्यक्षमा ओलीविरुद्ध रावलको उम्मेदवारी दर्ता

एमालेमा चुनाव हुने : अध्यक्षमा ओलीविरुद्ध रावलको उम्मेदवारी दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – नेकपा एमालेको चितवनमा जारी १० औं महाधिवेशनमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउने कोशिस असफल भएपछि सोमबारबाट निर्वाचन प्रक्रिया सुरु भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार सांझ आफुसहित ३ सय १ जनाको नाम घोषणा गरेका थिए ।

सोमबार अध्यक्षमा रावलले उम्मेदवारी दर्ता गरिसकेका छन् । त्यसैगरी उपाध्यक्षमा युवराज ज्ञवाली र सचिवमा प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन् । अनुशासन आयोगको अध्यक्षमा केशव बडालको उम्मेदवारी परेको छ । उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिने तयारी छ ।

केन्द्रीय निर्वाचन आयोगले संशोधन सहितको कार्यतालिका सार्वजनिक गरेको छ । यसअघि आइतवार राति नै मतदाता नामावलीदेखि उम्मेदवारीको काम सक्ने गरी प्रकाशन गरेको निर्वाचन कार्यतालिका तत्कालै संशोधन गरिएको थियो ।

पछिल्लो कार्यतालिका अनुसार बिहान ८ बजेदेखि ९ः२० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिनेछ । बिहान ८ बजेदेखि बिहान ९ः३० बजेसम्म उम्मेदवारी दर्ता गरिने छ ।

निर्वाचन आयोगका प्रमुख विजय सुब्बाकाअनुसार बिहान १०ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । बिहान १०ः३० देखि १०ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ भने १०ः५० बजे उजुरीउपर छानबिन र निर्णय हुनेछ ।

११ः५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ । दिउंसो १२ः ५ बजे अन्तिम नामावली प्रकाशन हुने र सांझ ९ बजेबाट मतदान हुनेछ । मतदान मंगलवार बिहान ३ बजेसम्मका लागि तोकिएको छ ।